इटहरी :इटहरी २ घर भएकी मिना श्रेष्ठ इटहरीको एक कम्पनीमा काम गर्छिन् । उनी बिहान तरहराको बरगाछी चोकमा निकै बेर धरानबाट आउने बस कुर्छिन् तर बस नआएपछि उनी सिटि सफारीमा चढेर इटहरी जानबाध्य हुन्छिन् ।
दिनभर काम गरेर फर्किने बेलामापनि कन्डक्टरले उनलाई ढोकाबाटै फर्काउँछ । उनीबसमा चढेर घर फर्किनको लागि कुनै दयालु कन्डक्टर भेटिनुपर्छ । नत्र धरान जाने यात्रु बसको पहिलो रोजाइमा हुन्छन् । बसमा अट्ने भए चढ्न पाउँछिन्, नत्र फेरी त्यही सफारीकै यात्रा ।
सार्वजनिक बस चढ्न गर्नुपर्ने संघर्ष उनी शब्दमा व्यक्त गर्न सक्दिनन् । पैसा तिरेरै चढ्छु भन्दा पनि पाउन सास्ती खेप्ने श्रेष्ठ त एक पात्र मात्रै हुन्, तरहरा, लविपुर, खनार सम्म यात्रा गर्नु पर्ने धेरै यात्रुहरुको पीडा उस्तै छ । इटहरीबाट चारै दिशामा चल्ने बसहरुले धरान, इनरुवा, दमक, विराटनगरका यात्रु सहज रुपमा स्वीकार्छन् । त्यसबिचका छोटा गन्तव्यका यात्रुले त बस खाली भए मात्रै चढ्न पाउने हुन् ।
इटहरीका युवा होमनाथ धमलाका अनुसार छोटो दुरीका यात्रुहरु महगों रकम तिरेर यात्रागर्न बाध्य छन् । उनका अनुसार बसमा १०–१५ रुपैयामा पुग्न सकिने गन्तव्यको लागि सफारी वा टेम्पोलाई सय रुपैया बढी तिर्नुपर्ने अवस्था छ । ‘अब एउटै विकल्प भनेको नगर बस नै हो,’ उनी भन्छन् ।
स्थानीय जनताको जनगुनासो र मागलाई सम्बोधन गर्दै इटहरी सरकारले नगरबस सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷७८ को नीति तथाकार्यक्रममा नगरबस सञ्चालनको लागि करिब ५० लाख सुरुवाती अबस्थामा काम गर्दै गर्नका लागि छुट्याएको छ ।
यस रकमले अहिले इटहरी पालिकाभित्र ११ वटा बहुवर्षे सडक निर्माणको योजनामा काम भईरहेको छ । सडक बने नगरबस सञ्चालनगर्न सहजहुने उपमेयर लक्ष्मी गौतमले बताइन् ।
नगरवासीले भने छिटोभन्दा छिटो नगरबस सञ्चालनगर्न माग गरेका छन् । ‘बस सञ्चालन भयो भने सफारीमा हुने मासिक सयौं रुपैया खर्च जोगिने थियो,’इटहरी १९ का प्रकाश चौधरीले भने ।