इटहरी: कोरोना भाईरसका कारण लकडाउनको अबस्था हुँदापनि इटहरी उपमहानगरपालिकाले भने विकासको कामलाई निरन्तरता दिएको छ । बजेटमा भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको इटहरीले लकडाउनको समयमा समेत विकासको कामलाई निरन्तर दिएको छ ।
लकडाउनले सुरक्षा उपाय अपनाएर निर्माण कार्य सुचारु गरिएको इटहरी उपमहानगरका इन्जिनियर बताउँछन् ।
सबैका दैनिक कामकाजहरू बन्द गरेपनि शान्ति सिर्जना टोल विकास समितिले भने विकासको कामलाई अघि बढाएको थियो । समितिका अध्यक्ष डम्बर बराइली र सल्लाहकार जीवन श्रेष्ठले भने टेंग्रा करिडोर निर्माणको काम थालेका थिए ।
इटहरी–४ को २०६१ ताका बनेको मुसहरनियाँ बाँध देखी निर्माण सुरु गरेर ४४ मिटर लामो बाटो टोल विकासकै अगुवाइमा बनेको थियो । चैत मसान्तबाट सुरु भएको कंक्रिट बाटो वैशाख पहिलो हप्तामा सम्पन्न भयो ।

शान्ति सिर्जना टोलमा मात्र हैन इटहरीको अन्य ठाउँमा पनि लकडाउनको बिचमै विभिन्न काम भएको इटहरी उपमहानगरले जनाएको छ । ११ वटा वहुवर्षे योजना अन्तर्गत कालोपत्रेको काम समेत लकडाउनको समयमा भएको थियो ।

चालु आर्थिक वर्षमा ४ सय ८० वटा वडा स्तरीय योजना स्वीकृत भएका थिए । ती मध्ये १ सय ३४ वटा सम्पन्न र २ सय ५९ योजना धमाधम सञ्चालनमा रहेको योजना शाखाका अधिकृत भगीरथ संजेलले बताए । २ सय १० वटा नगर स्तरीय योजना स्वीकृत भएकोमा २ सय ६ वटाको सम्झौता भई ६१ वटा सम्पन्न भएको उनले जानकारी दिए ।