इटहरी: कृषक र मजदुरहरुले बढी मात्रामा उपयोग गर्ने भित्रि सडकहरुलाई इटहरी उपमहानगरपालिकाले मुख्य सडकमा जोड्न थालेको छ । स्तरोन्नती गर्दै मुख्य सडकमा जोड्न थालेपछि मजदुर तथा किसानहरुले काम गर्न सहज हुने प्रतिक्रिया दिएका छन् ।

सडक कालोपत्रे हुने भएपछि स्थानियहरु खुसी भएका छन् । वडा नम्वर १३ का वडाअध्यक्ष शिवनारायण चौधरीले गाउँका जनता विकासका गति देखेर उत्साहित भएको बताए । वीरनारायण माँझीका पनाती हरीनारायण माझीले सडक बनेपछि सो क्षेत्रका किसान र मजदुरहरुको जीवनयापन सहज हुने बताए ।
स्थानीय गयादेवी विश्वासले आफूले प्रयोग गर्ने सडक कालोपत्रे भइरहेकोमा खुसी व्यक्त गरिन् । हिलो र धुलोबाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको बताइन् । ‘यहाँ फलेको सागसब्जी आफैले लगेर बेच्न पनि सजिलो हुन्छ,’ उनले भनिन् ।
कोशी र महेन्द्र राजमार्गका कारण शहरीकरण तीव्र भएको इटहरीका भित्रि गाउँहरुमा अझैपनि खेतीकिसानी गर्ने तथा मजदुरी गर्ने मानिसहरु धेरै छन् ।

उनीहरुले प्रयोग गर्ने भित्रि गाउँमा ११ वटा मुल बाटो छनोट गरी स्तरोन्नती गरेर आवतजावत सहज बनाउने अभियान थालिएको हो ।

उक्त सडकहरु करिब २७ करोड लागतमा सम्पन्न हुदै छन् । बहुवर्षे सडक योजनाहरु वडा नम्बर १७,१९ मा पर्ने मझौरा देखि बहमपुर सम्मको बाटो कालोपत्रे सडक, यस्तै वडा नम्बर १८, २० कान्छी चौक देखि बडहरा, डकाहा, पटेर्वा, अमाहा,महुलिया जनसहयोग स्कुल कालोपत्रे, वडा नम्बर १०, ११ मा पर्ने वीरनारायण मार्ग, वडा नम्बर १२,१३,१४ मा पर्ने खनार प्रहरी चौकी हुदैं भानु मार्ग, भारवी कलेज रोड, लिकं रोड बाकि खण्ड सडक कालोपत्रे –वडा नं. ७ र ८ मा पर्ने सडक कालोपत्रे बन्दैछ ।

यस्तै जब्दी मेला देखि शम्भुनाथ आधारधुत विद्यालय सम्म वडा नम्बर १६ देखि १७ सम्म सडक कालोपत्रे हुँदैछ । भने वडा नम्बर १ को वडा कार्यालयबाट माझी टोल सम्म बाटो कालोपत्रे, रामजानकी मन्दिरबाट जब्दी मेला जाने बाटो वडा नम्बर १६, १७, वडा नम्बर ५ र १ जोड्ने हलगडा देखि कंचनचौक सम्म सडक कालोपत्रे,

यस्तै, भुर्की देखि नहर सम्म सडक कालोपत्रे, वडा नम्बर २ कार्यालय भवन निमार्ण, र भोटिया खोला पुल निर्माणका योजनालाई महानगरले बहुवर्षे योजनामा उल्लेख गरेको छ ।

सडक निर्माणका योजनाहरु चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनेपनि लकडाउनका कारण तोकिएको समयमा सम्पन्न गर्न नसकिएको मेयर द्वारिकलाल चौधरीले बताए । तर अहिले पनि काम भईरहेकाले आगामी आर्थिकको मंसिर महिनामा सक्ने योजना रहेको मेयर चौधरीको भनाई छ ।

सडक सञ्जाल जोडिएसँगै इटहरी नगरभित्रका किसान तथा मजदुरहरुले उत्पादन गरेको कृषि सामग्री बिक्रि बितरण गर्न सहज हुने मेयर चौधरीको जोड छ । इटहरी उपमहानगर भएर पनि उपहानगर भएको अनुभुति गर्न नपाएका जनतालाई आभाष दिलाउन लागिएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।