इटहरीः इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको हंशेश्वर शिव मन्दिरमा अण्डा पकाएको निहुँमा स्थानीय र वडाध्यक्षबीच हातपात भएको छ । ‘महिला र बालबालिकाको लागि संविधानमा भएको अधिकार’को विषयमा भएको अभिमुखीकरण कार्यक्रममा आफूमाथि हातपात भएको वडाध्यक्ष बालकृष्ण बिष्टले बताए । हात मिलाउन आएको जस्तो गरेर हातपात गरेको उनले आरोप लगाए ।
आफूले मन्दिरमा नभई मन्दिर छेउमा अण्डा पकाएको वडाध्यक्ष बिष्टले बताए । आफ्नो मन्दिरको कार्यक्रममा आफूलाई नबोलाएको भन्दै कुमार गिरी हातपात गर्न आएको बिष्ट बताउँछन् । उता, गिरी भने आफूले मात्रै नभई बिष्टले पनि आफूमाथि हातपात गरेको बताउँछन् ।

यस्तो थियो विवादको जरो
वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्टले मन्दिरमा अण्डा पकाउन दिएको गाइँगुइँ चल्यो । मन्दिरजस्तो पवित्र क्षेत्रमा अण्डा पकाएको भन्दै स्थानीय कीर्तन मन्डलीकी अध्यक्ष ७२ वर्षीया जानुका गिरीले वडाध्यक्षको विरोध गरिन् । विरोधपछि अध्यक्षले ‘कसैको बाउको बिर्ता होइन यो मन्दिर’ भन्दै आफूलाई गाली गरेको गिरी बताउँछिन् ।
स्थानीयको चन्दा सहयोगमा बनेको मन्दिरमा आएर अण्डा पकाएको अनि आमालाई ‘तँ’ भनेर अपमान गरेको भन्दै स्थानीय कुमार गिरी आक्रोशित भए । त्यसपछि वडाध्यक्षलाई झम्टन पुगेका गिरीलाई बिष्ट र उनका सहयोगीले प्रतिवाद गरी रोके ।
त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै वडाध्यक्ष बिष्टले प्रहरीमा खबर गरे । सार्वजनिक कार्यक्रममा आफूमाथि हातपात गरेको भन्दै प्रहरीले गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले बताए । उनले भने, ‘हातपात गरेकोमा कुमार गिरीलाई पक्राउ गरिएको छ । अङ्गभङ्ग वा चोटपटक भने छैन । हामी अनुसन्धान गरेर बाँकी निर्णय गर्छौँ ।’

DSP shibha shrestha pradeshportal