इटहरी उदयपुरको वेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छिन्।
उनले बुधबार बेलुका आफ्नो फेसबुक वालमा पोष्ट गर्दे राजीनामा दिने घोषणा गरेकी हुन् ।
उनले नगरपालिकामा सामग्री खरिद प्रक्रियादेखि अन्य कुरामा अनियमितता हुने गरेको र आफूले त्यसबारे पटक/पटक कुरा उठाउँदा पनि त्यसको कार्यान्वयन नभएको भन्दै आफू पदमा बस्नुको औचित्य नरहेको बताइन्।
उपमेयर चौधरीले भनिन् नगरपालिकामा एउटा पंखादेखि स्काभेटर खरिद सम्ममा भ्रष्टाचार भएको छ। मैले डेढ वर्षदेखि योबारे कुरा उठाइरहेको छु। तर त्यो कुराको कुनै कार्यान्वयन हुँदैन भने म पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु ।
उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु। जनतासँग माफी मान्न चाहन्छु। कालो कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ दुईतिहाइ सरकार, उनले फेसबुकमा लेखेकी छिन्।
उनले आफ्नो राजीनामाको कारण नगरपालिकामा करारमा कार्यरत एक कर्मचारी पनि भागेदार रहेको बताएकी छन्।
उनले जिल्लाको त्रियुगा नगरपालिकाले हाजिर नगराएका कर्मचारीलाई मेयरको बलबुताले नगरमा नियुक्त गरिएको र ती कर्मचारीको कार्य आफूलाई चित्त नबुझेको जनाइन्।
उहाँ पहिले जिविसमा पनि भ्रष्टाचारमा मुछिएको व्यक्ति हो। तर उहाँलाई यहाँ सहायक कम्प्युटर अपरेटरमा नियुक्ति गरिएको छ। उहाँले टेन्डर प्रक्रियाको सूचना लुकाउनु भएको छ। आफ्नो कार्यकक्षमा १० लाखभन्दा बढी सामग्री खरिद गर्नुभएको छु उपमेयर चौधरीले भनिन् मैले यसबारे डेढ वर्षदेखि हरेक कार्यपालिका बैठकमा कुरा उठाउँदै आएको छु तर अहिलेसम्म मेयर साबले चासो दिनुभएको छैन।
उनले मेयरले नै ती कर्मचारी बिना नगरपालिका नै चल्दैन भनेर अड्डी कस्दै आएको बताइन्।
मेयर दुर्गाकुमार थापाले भने सामग्री खरिदमा कुनै पनि अनियमितता नभएको दाबी गरे। उनले भने हरेक सामग्री खरिद ऐन अनुसार नै खरिद गरिएको छ। स्काभेटर खरिद गर्दा पनि मैले त्यसको मूल्य सबै आफ्नो फेसबुकमा समेत राखेको छु। उहाँलाई त्यस्तो लाग्छ भने प्रमाण लिएर आउनुपर्यो। मेयर थापाले नगरपालिकामा भएको भ्रष्टाचार मैंले गर्दा भएको रहेछ, भने म राजीनामा दिन तयार छु, तर उहाँले फेसुबकमा लेख्नु भन्दा शुरुमा पालिकामा प्रष्ट कुरा राख्नु पर्यो ।
तर उपमेयर चौधरीले मैले राजीनामाको घोषणा गरेको हो। म तत्काल लिखित दिन पनि तयार छु। अब पार्टीले कस्तो निर्देशन दिन्छ। तर नगरमा कार्यसञ्चालनमा देखिएको हिलोहरू सफा भएन भने म आफैं पन्छिन्छु। म जनतासँग माफी माग्न चाहन्छु, उनले भनिन्।
चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उपमेयर पदमा निर्वाचित भएकी थिइन्।