इटहरी: डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डि.एफ.ओ.) रामबाबु साहलाई अख्तियारले पक्राउ गरेको छ ।

घुस र रिसवत वापतको अवैध रकम ५ लाख ५३ हजार लिई रौतहटतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रमुख साह र उनकी श्रीमति किरण साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले शुक्रबार बिहान सुनसरीको कोशी गाउँपालिका ८ स्थित कोशी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

बा २ झ ४१० नम्बरको कार्यालयको सरकारी गाडीमा उक्त रकम लुकाई सुनसरीबाट घरतर्फ जादैँ गर्दा रकमको श्रोत खुलाउन नसकेपछि वन अधिकृत साह पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।