धनकुटा : साँगुरीगढी गाउँपालिका ६ धारापानी स्थायी घर भई वैदेशिक रोजगारमा रहेका युवाहरुले धारापानीका एक सय १० घरलाई खाद्यान्न सहयोग गरेका छन् ।
धारापनी स्थायी बसोबास रही हाल रोजगारीको सिलसिलामा कतार, इजरायल, साउदी, दुबही, मलेसिया, हङ्कङ, जर्मन, बेलायत, दक्षिण कोरिया लगायतका देशमा रहेका उनीहरुले दुई लाख ३२ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन ।

उनीहरुले सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनको मारमा परेका धनकुटाको धारापानी निवासी सबै एक सय १० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले प्रतिपरिवार २५ केजीको १ बोरा चामल, एक केजी नुन, दुई केजी दाल र आधा लिटर तेल सहयोग गरेका थिए। आफूहरु जहाँ रहे पनि धारापनीवासीको साथ र सहयोगमा सधै रहिरहने र परिआएको विपदमा जहिले पनि सकेको सहयोग गरिरहने रोजगारीको शिलशिलामा कतारमा रहेका ललित राईले बताए । वैदेशिक रोजगारमा रहेका २४ जना युवाहरुले पठाएको रकम संकलन गरेर साँगुरी धारापानी समाज धरानले संयोजन गरि हस्तान्तरण गरिएको समाजकी अध्यक्ष नेत्रकुमारी राईले जनकारी दिईन् ।