बेलबारीः बेलबारी प्रहरीले चोरीको हीराको औंठी र सिक्रीसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बेलबारी–४ का सुरज गुरुङ, बेलबारी–३ का कौशिराज राई र इटहरी–२० की लालकुमारी राई रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार राईका अनुसार बेलबारी– ४ का अमृत गुरुङ सुतिरहेको अवस्थामा उनीहरूले १ लाख ५० हजार बराबरको सुनको सिक्री र रु ७ लाख ५० हजार मूल्य पर्ने हीराजडित औंठी चोरेर भागेका थिए । भाग्दाभाग्दै उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अवैध हतियार र मृगको छालासहित सुन्दरहरैंचा–७ का नृसिंह राईलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ ।