इटहरीः सडक सञ्जालको आधारमा प्रदेश १ को हब इटहरी लागुऔषध कारोबारी र प्रयोगकर्ताहरूको पनि हब बन्दै गरेको देखिएको छ । पछिल्लो ४ महिनामा इटहरी प्रहरीले पक्राउ गरेका लागुऔषध प्रयोगकर्ता र कारोबारीको सङ्ख्याले यस्तो देखाएको प्रहरीको भनाइ छ ।
यस वर्ष जेठ ५ गतेदेखि भदौ मसान्तसम्ममा मात्रै २७ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । यसमा १ जना महिला र बाँकी सबै पुरुष भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । पक्राउ परेका २७ जनामा ४ जनालाई प्रहरीले घरपरिवारसँगको सहकार्यमा सुधार केन्द्रमा पठाएको छ । बाँकीलाई भने मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।
इटहरीमा पूर्वका विभिन्न जिल्लाका लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरू आउने गरेको पक्राउ परेकाहरूबाट खुलेको प्रहरीको भनाइ छ । इटहरी प्रहरीका अनुसार इटहरीमा लागुऔषध कारोबारी भन्दा प्रयोगकर्ताहरू धेरै छन् । अरुलाई बेचबिखन मात्रै गर्ने कारोबारी र आफैँ प्रयोग गर्नेहरू प्रयोगकर्ताहरू हुन् । कसैले भने प्रयोग र कारोबार दुवै गर्दै आएको देखिएको छ ।
लागुऔषध प्रयोगकर्ताबाट थप अपराध आउँदैः प्रहरी
लागुऔषध प्रयोगका कारणले अन्य अपराधहरू समेत बढेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठका अनुसार प्रयोगकर्ताहरू आफँै पीडित र आफैँ पीडक बने पनि यसका अन्य थुप्रै सामाजिक असर छन् । चोरी, लुटपाट, यौनहिंसा र झैझगडा जस्ता थुप्रै अरु अपराधहरू लागुऔषधले थपेको डिएसपी श्रेष्ठले बताए ।
जेठदेखि इलाका प्रहरी कार्यालय इटहरीको कमाण्ड सम्हालेका श्रेष्ठ लागुऔषध समस्याको समाधान भएमा धेरै समस्याहरू आफैँ समाधान हुने बताउँछन् । उनी भन्छन्, ‘लागुऔषधको समस्या इटहरीको सबैभन्दा ठूलो समस्या छ । तर, यसको समाधानतर्फ समाज त्यत्ति सक्रिय छैन ।’
इटहरीको मुख्य आपराधिक समस्या भनेकै लागुऔषध भएकाले पछिल्लो समयमा प्रहरीले विभिन्न सचेतनाका कार्यक्रमहरू ल्याएको डिएसपी श्रेष्ठले बताए । उनले भने, ‘विभिन्न युवा समूह तथा स्कुल कलेजका विद्यार्थीहरूसँगको सहकार्यमा हामी लागुऔषध समस्या रोकथाम गर्न जनचेतनाका कामहरू गर्दैछौँ ।’
परिवार, विद्यालय, कलेज र समाजले लागुऔषध प्रयोगका नकरात्मक कुराहरू समयमै भन्दा यसको धेरै रोकथाम हुन सक्ने डिएसपी श्रेष्ठको तर्क छ ।