खोटाङः बाँदरलाई हानेको गोली लागेर खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा १२ बर्षीय बालकको सुक्रबार मृत्यु भएको छ।
सो गाउँपालिका ४ जलेश्वरी थापागाउँका बालक शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाकका प्रहरी नायब उपरीक्षक नारायण चिमरिया जानकारी दिएका छन् ।
उनका अनुसार बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटना सुक्रबार रातीको भएपनि उनलाई शनिबार बिहान पक्राउ गरिएको हो ।
बालक मानकाजीका जेठानका छोरा हुन् । बुवा आमा नै विदेशमा रोजगारीका लागि गएका कारण बालक आफन्तकोमा बसिरहेको चिमरियाले बताए । उनका अनुसार घरदेखि एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन साँझ बालकलाई लिएर मानकाजी गएका थिए । बाँदर धपाउने क्रममा उनले बन्दुक पड्काउँदा बालकको अनुहार तथा टाउकोमा छर्रा लागेको थियो। बालकको घटनास्थलमै मृत्यु भएको चिमरियाले बताए । उनका अनुसार पक्राउ परेका तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।