इटहरीः सुनसरीको इटहरीस्थित कबिर माध्यमिक विद्यालयमा आज मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाले एक कार्यक्रम आयोजना गरी संघीय संसदको प्रतिनिधिसभा भंग गर्ने सरकारको असंंवैधानिक कदमप्रति विरोध प्रकट गरेको छ । समाजका  संस्थापक अध्यक्ष तथा वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अन्य पदाधिकारी तथा साहित्यकार, राजनीतिकर्मीलगायत अन्य व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ मानव अधिकारकर्मी पहाडीले समाजले सरकारको असंवैधानिक कदमविरुद्ध देशव्यापी रुपमा हालसम्म ९२ ओटा प्रदर्शन आयोजना गरिसकेको बताए ।

आणविक हतियारको प्रयोगमाथि विश्वमै प्रतिबन्ध लगाउनुपर्ने आवाज समाजले स्थापनाकालदेखि नै उठाउँदै आएकोमा संयुक्त राष्ट्रसंघले आणविक अस्त्र निषेध सन्धि जारी गरेको उनको भनाइ थियो । संसदीय मत र सडक संघर्षबाट संसदको आयु निर्धारण हुने बताउँदै पहाडीले दाहसँस्कार भइसकेको राजतन्त्र ब्युँताउनु निरर्थक भएको बताए । राजतन्त्र ब्युँताउने भए राणा शासन पनि किन नब्युँताउने भन्दै उनले यस्ता कार्यले देशलाई पछाडि धकेल्ने उल्लेख गरे । 

दलको आन्तरिक किचलोका कारण सार्वभौम संसद विघटन गर्नु अपराध भएको बताउँदै उनले महामारीका समयमा भिडभाड हुनेगरी चुनाव घोषणा गर्नु अमानवीय भएको बताए । लोकतन्त्रमा जनता सबैभन्दा शक्तिशाली हुने भन्दै पहाडीले स्वतन्त्रताको रक्षाका लागि नागरिक समाज सक्रिय हुनुपर्नेमा जोड दिए । मधेशमा उत्पन्न विद्रोहका कारण मुलुकमा संघीयता स्थापना भएको उल्लेख गर्दै उनले संविधान महत्वपूर्ण उपलब्धि भएकाले सुधारका लागि संशोधन गर्न सकिने भएपनि पुनर्लेखन गर्न नहुने विचार व्यक्त गरे ।

kdf

नेपालको संविधान औसत प्रकृतिको भएकाले सुधार आवश्यक रहेको उनको भनाइ थियो । संसद विघटन गर्ने प्रावधान संविधानमा नरहेकाले वैशाखमा चुनाव नहुने र संसद पुनस्र्थापना हुने उनले उल्लेख गरे । यसैगरी, अर्का वक्ता विघटित प्रतिनिधिसभाका सांसद सीताराम मेहताले राष्ट्रको कुटनीतिक क्षेत्रमा खुलेआम हस्तक्षेप भइरहेको बताए । मेहताले दलहरुबीचको साँठगाँठबाट संसद विघटन भएको हुनसक्ने आशंका व्यक्त गरे । यसैगरी अर्का वक्ता मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईले संविधानको मर्मविपरीत सरकारले गरेको कू विरुद्ध सबै नागरिक एक भएर आवाज उठाउनुपर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाज सुनसरीका सभापति पुरुषोत्तम घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद सीताराम मेहताले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । जिल्ला सदस्य सीताराम कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अर्की जिल्ला सदस्य तथा कबिर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मिनु न्यौपानेले धन्यवाद ज्ञापन गरेकी थिइन् । समाजका कार्यवाहक सचिव रोवनराज कार्कीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार मनु मञ्जिल, मोरङ सभापति भेषराज पोख्रेल, केन्द्रीय सभापति उत्तम पुडासैनी लगायतले बोलेका थिए । यसैबीच, सोही कार्यक्रमका अवसरमा समाजको सुनसरी जिल्ला कार्यसमितिसमेत चयन भएको भएको छ ।

११ सदस्यीय समितिका सभापतिमा सीताराम कोइराला, उपसभापतिमा हेमन्त गौतम, सचिवमा रोवनराज कार्की, सहसचिवमा मिनु न्यौपाने र कोषाध्यक्षमा राकेशकुमार दास निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, समाजका सदस्यमा युवराज काफ्ले, मोहनकुमार बञ्जरा, पुष्कल पराजुली, योसा गुरागाईँ र सुभद्रा संग्रौला चयन भएका छन् । यस्तै, दलबहादुर साह दलित सदस्यमा निर्वाचित भएका छन् । शाखाको सक्रियताका लागि २५ जना सदस्य अनिवार्य रहेकाले अन्य कार्यसमितिको पहिलो बैठकले अन्य सदस्यको मनोनयन गर्ने समाजका केन्द्रीय उपाध्यक्ष विष्णु चापागाईँले बताए ।