इटहरीः विभिन्न व्यक्तिसँग रकम लिएर फिर्ता नगर्ने इटहरीकी सञ्जुु बस्नेतविरुद्ध जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले सदर गरिदिएको छ । बैंकिङ अपराधमा संलग्न रहेको भन्दै उनीविरुद्ध मुुद्दा दायर भएको थियो । सुुनसरी जिल्ला अदालतले गत साल असार ६ गते १८ लाख १६ हजार रुपैयाँ बिगो, सोही बमोजिम जरिवाना र २७ दिन कैद सजायको फैसला सुनाएको थियो ।

सुनसरीका तिलकप्रसाद निरौलाले ११ लाख ५० हजार, सुन्दरहरैँचाका अपिल लामाले १ लाख, इटहरीका प्रदीप गौतमले २ लाख ८० हजार, दिनेश बराइलीले ८० हजार र भद्रावती लिम्बूले २ लाख ६० हजार रुपैयाँ ठगिएको भन्दै बस्नेतविरुद्ध मुद्दा दायर गरेका थिए । त्यसपछि इटहरी प्रहरीले पक्राउ गरी बस्नेतको मुुद्दा प्रक्रिया अघि बढाएको थियो ।
जग्गाको कारोबार गर्ने भन्दै बस्नेतले अरु व्यक्तिको जग्गा देखाएर बैना लिने बस्नेतले धेरै व्यक्तिलाई ठगेको प्रहरीमा उजुरी परेको थियो । तीमध्ये माथि उल्लेखित व्यक्तिलाई उनले चेकमार्फत् रकम फिर्ता गरेकी थिइन् । तर, चेक बाउन्स भएको भन्दै उनीविरुद्ध मुुद्दा दायर भएको थियो ।

बैंकिङ कसुर ऐन अन्तर्गत उनीविरुद्ध मुुद्दा चलाइएको र जिल्ला अदालतले बस्नेतलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको थियो । सो फैसलालाई उच्च अदालत विराटनगरले बैशाख १६ गते सदर गरिदिएको रजिष्टार ठगेन्द्र कट्टेलले जानकारी दिए । उच्च अदालतका मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश शेखरप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो निर्णय गरेको थियो ।

इटहरी क्षेत्रका विभिन्न व्यक्तिले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । विभिन्न पेशामा आबद्ध व्यक्तिलाई निशाना बनाउने उनले जग्गाको कारोबार गर्ने भन्दै सम्बन्ध विकास गर्ने र जग्गा देखाई अग्रिम पैसा लिएर बेपत्ता हुने गरेको पीडितको भनाइ छ ।
सस्तोमा जग्गा दिलाइदिने भन्दै शुरुमै पैसा लिने र पास गराइदिने भाका राखी लामो समयसम्म पैसा नदिई आलटाल गर्दै धेरै मान्छेलाई ठगी गर्ने उनको प्रोफेसनल धन्दा भएको पीडित बताउँछन् ।