इटहरीः गत साउन २५ गते देखी नेपाली सेनाका २४ जनशक्ति उदयुरको बेलकामा उपस्थित छन् । नेपालभरका पृतनाबाट आएका उनीहरू बेलकामा कुनै सैन्य अभ्यास गर्न भने आएका हैनन । उनीहरू नेपाली सेनाको पहिलो प्याराग्लाइडिङ पाइलटको ब्याच उत्पादन गर्न आएका हुन ।

२२ देखी २५ उमेर समूहका सैनिकहरू तालिममा सहभागी छन् । सहभागीका टिम लिडर पश्चिम पृतना शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी अर्जुन बस्नेतका अनुसार प्याराग्लाइडिङ पाइलट उत्पादनको नेपाली सेनाको यो पहिलो सिरियल नम्बर भएको ब्याच हुनेछ । प्रमुख सेनानी बस्नेतका अनुसार तालिममा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्याइडिङतर्फ स्वर्ण पदक ल्याउने नेपाली सेनाका खेलाडी सागर जलारी पनि सहभागी छन् ।

nepali army training in paragliding in ujdayapur 2019 pradeshportal.com

५ महिला र १९ पुरुष सहभागी प्याराग्याइडिङ पाइलट उत्पादन सैन्य नभएर नागरिक अभ्यास हुने प्रमुख सेनानी बस्नेतले बताए । उनले भने, ‘नेपाली आकाश र नेपाली पर्यटन क्षेत्र सुरक्षित छ, नेपाली सेनाले प्याराग्याइडिङका नयाँ खोजमा सहयोग गर्न यो तालिम लिइएको हो ।’

एसियन प्याराग्याइडिङ असोसिएसनको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश १ को समन्वयमा २५ गतेबाट सुरु भएको तालिम ६ गते समापन हुनेछ । तर, सैनिक भित्रको तालिम भने सावन १३ गते मात्रै सकिने प्रमुख सेनानी बस्नेतले बताए ।

उनले भने, ‘सावन १७ बाटै हाम्रो तालिम सुरु भएको छ जसमा १४ दिन हामी फिल्डमा हुन्छौँ ।’ सबै तालिमको प्याकेज भने भदौ १४ सम्म सकिने बस्नेतले बताए ।

तालिममा भारतीय प्रशिक्षक अजय शर्मा मुख्य प्रशिक्षक रहेका छन् भने विजय गौतम, विशाल थापा, देशमणि जिमी र खुमबहादुर गुरुङ जस्ता चर्चित प्याराग्लाइडिङ पाइलटहरूले प्रशिक्षण दिइरहेका छन् । गौतम र थापा इन्डोनेसियामा सन २०१८ को अगस्ट १८ देखी सेप्टेम्बर २ सम्म भएको एसियाली खेलकुदमा नेपालको तर्फबाट प्याराग्लाइडिङमा रजत पदक विजेताहरू हुन ।

participants of nepal army paragliding first batch training in udayapur pradeshportal.com birat anupam

स्थानीय सरकारले जग्गा दिएकोले स्कुल सञ्चालनमा सहजता

प्राविधिक र भौगोलिक सहजतासँगै बेलकामा प्याराग्लाइडिङ स्कुल संचालनको लागी नेफालाई सरकारले जग्गा दिएर थप सहज भएको नेफाका सचिव राम राईले बताए । उनले भने,‘प्याराग्लाइडिङ स्कुल सञ्चालनको लागी २०७५ मै २५ बिघा जग्गा ल्यान्डिङको लागी र ४ कट्ठाको वोप्ताङ डाँडा सरकारले २५ वर्षलाई सहजै लिजमा दिएकोले तालिम गर्न सजिलो छ ।’

बेलका नगरपालिकाका मेयर दुर्गा बहादुर थापा (स्वस्तिक थापा)को सहयोगले प्यराग्लाइडिङ स्कुलका पूर्वाधारको आधार बनेको नेफा सचिव राईले बताए । उनले भने, ‘स्थानीय सरकारले असहयोग गरेको भए र जग्गा नदिएको भए आज बेलकामा प्रदेश १ को पहिलो र नेपालको राम्रो प्याराग्लाइडिङ स्कुल बन्ने थिएन ।’ 

नेपालमा कास्की पोखरा र स्याङ्जाको सिर्कोटमा पनि प्याराग्लाइडिङ तालिम केन्द्रहरू भए पनि बेलका सुरक्षित भएर नेपाली सेनाको पहिलो तालिम यही भएको आयोजक रसियन प्याराग्लाइडिङका सञ्चालक प्रकाश पोखरेल बताउँछन् ।

२५ बिघाको ल्यान्डिङ स्टेसन र ३२० मिटरको उचाहि भएकोले बेलका नयाँ तालिम लिनेहरूलाई राम्रो स्थान भएको पोखरेलले बताए । उनले भने, ‘कट्ठाको टेक अफ भए पनि ल्यान्डिङ भने २५ बिघाको विशाल छ बेलकामा ।’

टेक अफ हुने वोप्ताङ डाँडाको उचाहि ४४० मिटर र ल्यान्डिङ गर्ने जमिनको उचाइ १२० मिटर रहेको छ ।