बिर्तामोडः झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमको टुङ्गो लागिसकेको जनाएको हो ।

आयोजकका प्रवक्ता अविनाश राईले उद्घाटन खेल भारतको सिक्किम आक्रामक र सङ्कटा क्लबबीच हुने बताए । झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका नै सार्वजनिक गरिसकिएको उनको भनाइ छ । आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा र थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र आसामको मोलवे फुटबल क्लब विदेशी टिमका रूपमा रहेका छन् ।

गोल्डकपको तयारी अन्तिम भएको जनाइएको छ । गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलका म्यान अफ दी म्याच खेलाडीले २५ हजार रुपैयाँ पाउने आयोजकका प्रवक्ता राईले बताए ।

उनका अनुसार विधागततर्फ ७ ओटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५÷१५ हजार पाउने उनले जानकारी दिए । म्यान अफ दी टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन ।

यसैबीच, गोल्डकपले मुख्य प्रायोजकको रूपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको साथ पाएको छ । क्लबसँगको प्रायोजनबारे पनि आयोजकले केही खुलाएको छैन । क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।