इटहरीः झापाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा प्रहरीले २० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न ब्राण्डका पटाका बरामद गरेको छ ।

भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतका जिल्लाका विभिन्न क्षेत्रबाट बरामद गरिएका सबै पटाका आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । उनका अनुसार तिहार नजिकिएसँगै भारतीय सीमावर्ति बजारहरुबाट चोरी पैठारी गरिएका पटाका प्रहरीले विशेष अभियानअन्तर्गत छापामारी तथा नाकामा चेकजाँच गरी बरामद गरेको हो ।

बरामद गरिएका पटाकाहरुमा जगमग, खुर्सानी, झिरझिरे, अनारलगायत विभिन्न ब्राण्डका पटाका समावेश छन् । बरामद भएका सबै पटाका कार्यालय परिसरमै नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पटाका नियन्त्रणको अभियानले सकारात्मक परिणाम देखिएकाले यसलाई निरन्तरता दिइएको छ ।