इटहरीःसुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको टोलीले कार तथा मोबाइल चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–१ पश्चिम धर्मकाटाका २० वर्षीय प्रदीप चौधरी, इटहरी–१३ का २० वर्षीय सञ्जय सरदार, सोही स्थानका १९ वर्षीय नरेश सरदार र १९ वर्षकै अविनाष सरदार रहेको कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताए । उनका अनुसार अभियुक्तहरुले गत २९ असोजमा इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पुष्पनारायण चौधरीको घरको चौथो तल्लामा रहेको कोठामा प्रवेश गरी चार्जमा राखिएको मोबायल र विभिन्न बैकका एटीएम कार्डहरू रहेको पर्स र बा ९ च ३४०३ न। को कारको साँचोसमेत निकाली सो कार अनि कारभित्र रहेको ल्यापटप चोरी गरेका थिए ।
चोरी भएको सो कार गत असोज ३० गते उर्लावारी नगरपालिका–३ नयाँ मंगलबारेमा वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले कात्तिक १६ गते खनारकै सद्दाम हुसेनको घरबाट दुईवटा मोबाइलसहित ४ हजार ६ सय नगद चोरी भएकोमा सो घटनामा समेत सोही समूहको संलग्नता रहेको बताएको छ । घटनामा संलग्न प्रदीप चौधरीलाई कात्तिक २३ गते इटहरी १२ मा रहेको अविनाश सरदारको घरबाट नियन्त्रणमा लिएकोमा निजलाई चेकजाँच गर्दा यसअघि हराएका मोबाइल र पर्स फेला परेपछि प्रहरीले अपराधीलाई संरक्षण दिएको आरोपमा घरधनी सरदारलाई समेत पक्राउ गरेको थियो । यसका साथै प्रहरीले खनारकै सद्दाम हुसेनको घरबाट मोबाइल चोरी गरेको आरोपमा इटहरी–१३ का नरेश सरदार र सञ्जय सरदारलाई पनि पक्राउ गरेको प्रहरी निरीक्षक कटुवालले बताए ।