इटहरीः कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौनजन्य हिंसाका घटनामा मेलमिलाप गरी सार्वजनिक नगर्ने प्रवृत्ति हिंसा न्यूनीकरणको कार्यमा बाधक बनेको बताएकी छन् ।
यौन हिंसाको विषयलाई मुख्य प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्ने पत्रकारहरुद्वारा आज संघीय राजधानी काठमांडौमा आयोजित अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले यौन हिंसासम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्न नपाइने स्पष्ट कानूनी प्रावधान लागू गरिनुपर्ने उल्लेख गरिन् । मेलमिलापका लागि बाध्य पार्ने व्यक्तिविरुद्ध पनि कडा कानूनी कारबाहीको व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । सरकारले यस्ता घटना सम्बन्धित निकायमा पुर्याउन स्थानीय तहमा कृयाशील न्यायिक समितिलाई अधिकार दिएकोमा अधिकांश घटना समितिमा आउन नपाउँदै व्यक्तिगत दबाबका आधारमा मेलमिलाप हुने गरेका कारण दोषीमाथि कारबाही हुन नसकेको उनले बताइन् ।
कानूनी व्यवस्था मात्र पनि हिंसा न्यूनीकरणमा पर्याप्त नहुने उल्लेख गर्दै मन्त्री तुम्बाहाङ्फेले नागरिकलाई चेतनशील बनाउनुपर्ने धारणा राखिन् । चेतना अभिवृद्धिमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग व्यापक रुपमा उठिरहेको प्रसङ्ग उठाउँदै उनले नेपालको संविधानले सबै मृत्युदण्डको सजाय हुनेगरी कानून बनाउन रोक लगाएकाले नेपालमा मृत्युदण्डको व्यवस्था लागू नहुने स्पष्ट पारिन् ।