इटहरीः उदयपुरमा जुवा खेलिरहेका नौ जना पक्राउ परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाछिस्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुबाट प्रहरीले एक बुङ तास, १७ थान मोबाइल, ३ थान सुनको औँठी, कृषि विकास बैंकको एक लाखको चेक र २ थान सुनको सिक्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै अभियुक्तहरुबाट १९ वटा कौडा, ६ वटा मोटरसाइकलको साँचो, नबिल बैंकको दुई लाख दश हजारको चेक र दुई लाख ४७ हजार एक सय १७ रुपैयाँ नगद पनि बरामद गरिएको उदयपुर प्रहरीले जानकारी दिएको छ । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्ने सबै त्रियुगा नगरपालिका कै रहेका छन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नम्बर ११ का ४९ वर्षीय प्रेम भट्टराई, ४० वर्षीय मन्दिप राई, मेख बहादुर राई र ४० वर्षीय राजन कुमार राउत रहेका छन् ।
यस्तै त्रियुगा नगरपालिका वडा नम्बर १० का २० वर्षीय ईश्वर खड्का, वडा नम्बर १२ का ४५ वर्षीय बल बहादुर कार्की, वडा नम्बर १ का ४० वर्षीय नविन राई, वडा नम्बर ८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, र वडा नम्बर ३ का २९ वर्षीय सुनिल चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।