कञ्चनपुरः भारतीय प्रहरीले नेपाली नागरिकलाई सीमाबाट फर्काइदिएका छन् ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएका हुन् । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाट नेपाल नै फिर्ता पठाएका हुन् । यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् ।
भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिए । उनका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ । दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन् । -रासस