इटहरीः कोरोना महामारीका कारण गत चैतमा देशव्यापी लकडाउन घोषणा गरिएसँगै अवरुद्ध भएको सवारी चालक अनुपतिपत्र वितरणको प्रकृया हालसम्म सुचारु हुन सकेको छैन ।

यसबाट परीक्षा उत्तिर्ण गरी बसेका सर्वसाधारण लाइसेन्स पाउनबाट बञ्चित भएका छन् । यसका साथै नयाँ लाइसेन्सका लागि परीक्षा दिने तयारीमा रहेकाहरुलाई पनि परीक्षा सञ्चालनको मिति घोषणा नहुँदा अन्यौल भएको छ । चार महिनासम्म पूर्ण रुपमा लकडाउन गरेको सरकारले केही समयअघि सरकारी कार्यालयको सेवा सुचारु गर्ने निर्णय गरेता पनि मुद्रण भइसकेका लाइसेन्सको वितरण गर्न समेत यातायात व्यवस्था विभागले कुनै चासो दिएको देखिँदैन ।

यद्यपी, विभागले तिहारपछि आफूमातहतका प्रादेशिक कार्यालयमार्फत् लाइसेन्स वितरण सुरु गर्ने जनाएको छ । संघीय र प्रदेश सरकारबीच लाइसेन्स वितरण र परीक्षा सञ्चालनबारे भएको विवादका कारण दुवै काम अलपत्र परेका हुन् । विभागको संघीय कार्यालय र प्रादेशिक कार्यालय परीक्षा सञ्चालन र लाइसेन्स वितरणमा भएको ढिलाइको दोष एक अर्कालाई लगाइरहेका छन् ।

विभागले परीक्षा सञ्चालन प्रादेशिक कार्यालयको जिम्मेवारी भएको बताएको छ । विभागले हालसम्म २१ लाख लाइसेन्सको माग भएकोमा सोमध्ये १९ लाख लाइसेन्स मुद्रण सम्पन्न भएको बताउँदै बाँकी काम छिटै सम्पन्न हुने उल्लेख गरेको छ । लाइसेन्स नवीकरण, प्रमाणीकरण र राजश्व संकलनको कार्य सुचारु गरेको विभागले लाइसेन्स वितरणको काममा भने ढिलाइ गरेको छ । यसैगरी, परीक्षा सञ्चालनको विषय अन्यौलमा परेको छ ।