इटहरीः हङकङको याउमातेइमा नेपाली सञ्चालकद्वारा सञ्चालित एक रेस्टुरेन्टमा गएराति भएको आगलागीमा परी सात जना नेपालीले ज्यान गुमाएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेका छन् । मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीको भनाइ छ । स्थानीय समय अनुसार हिजो राति ८ बजे भएको आगलागीमा परी १३ जना घाइते भएका छन् । उनीहरुको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ ।

उद्दार गरिएका १० वर्षीय बालकसहित सात जनाको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाइएको छ । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको त्यहाँ रहेका नेपाल्ीहरुको भनाइ छ । आगलागीमा परी सात नेपालीको ज्यान गएको एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग राधिकाले बताइन् ।