संखुवासभाः भाईटिकाको दिन आज संखुवासभाको चैनपुरमा प्रहरी टोली र विप्लव माओवादीका कार्यकर्ताहरु बीच गोली हानाहान भएको छ । नियमित गस्तीमा हिडिरहेको १३ जनाको प्रहरी टोलीलाई लक्षित गरि चैनपुर नगरपालिका ४ मैदाने भन्ने स्थानमा लुकेर बसेका विप्लव माओवादीका कार्यकर्ताहरुले शुरुमा फायर खोलेका थिए ।
उनिहरुले १२ राउण्ड हवाई फायर खोलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले बताएका छन् । उनका अनुसार विप्लव माओवादीका कार्यकर्ताहरुले फायर खोलेपछि प्रहरीले पनि ८ राउण्ड जवाफी फायर खोलेका थिए । दुवै तर्फबाट फायर खोलेपनि मानवीय क्षति नभएको मल्लले जनाए । प्रहरी फायर खोलेपछि विप्लवका कार्यकर्ताहरु तितर वितर भएका थिए । बिहान साढे ११ बजेको समयमा फायरिंग भएपछि गस्तीमा रहेका प्रहरीको थप सहयोगका लागि सशस्त्र प्रहरीको अरुण गुल्म र इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ जना थप प्रहरीको टोली घटना स्थलतर्फ परिचालन गरिएको छ ।
डिएसपी मल्लका अनुसार फायरिंग खोल्ने विप्लव कार्यकर्ताको खोजी व्यापक बनाइएको छ । उनिहरु के कति समूहमा थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । फायरिंग भएको स्थानमा प्रहरी पहिलो पटक गस्तीमा निस्केको थियो । विप्लव कार्यकर्ता र प्रहरी बीच फायरिंग भएपछि भाईटिका दिन टिका थाप्न र लगाउन आउने स्थानीयहरु त्रसिद भएको स्थानीयको भनाई छ । पहिला माओवादी युद्धकाललाई सम्झाउने गरि फायरिंग भएकाले चैनपुर ४ मैदाने बासीहरु त्रसिद बन्नु परेको स्थानीयको भनाई छ । घटना स्थलमा थप प्रहरी परिचालन गरि सर्च अभियान जारी राखिए पनि कहाँ कति बेला के हुने हो भन्ने डर र चिन्ता स्थानीयमा रहिरहेको स्थानीयले जनाएका छन् ।