इटहरीः झापामा भूमाफियाहरुको जग्गा खरिद बिक्रीमा चलखेल बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रमा रहेको नौ करोड मूल्य बराबरको जग्गा माफियाहरुले कर्मचारीको मिलेमतोमा कब्जा गर्न खोजेका छन् । पाथीभरा सिने प्लाजानजिकै रहेको जग्गा कब्जा गर्न खोजेपछि स्थानीयहरु माफियाविरुद्ध प्रतिकारमा उत्रिएका छन् । माफियाहरुले जग्गा कब्जा गर्नका लागि नापी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिसँग सेटिङ मिलाई कित्ता नम्बर हेरफेर गरेको स्थानीयको आरोप छ ।

नापी कार्यालयले माफियाहरुलाई उपलब्ध गराएको एउटै जग्गाको दुई ओटा फरक नक्साबाट स्थानीयको आरोप सत्य साबित भएको हो । बिर्तामोड नगरपालिका १ स्थित कित्ता नम्बर ५४७ कायम भएको जग्गाको कित्ता नम्बर परिवर्तन गरी ६२२ कायम गराएको र एउटै जग्गाको फरक नक्सा नापी कार्यालयबाट जारी भएको पाइएको छ । साउन र असोजमा जारी भएका एउटै जग्गाका दुई नक्सा रहेका छन् । यसले जग्गाधनीलाई प्रशासनिक झमेलामा धकेलेको छ ।

नक्सामा कार्यालयका सर्वेक्षक नारायण सापकोटा र द्रोजेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् । भूमाफियाहरुले कर्मचारीसँग मिलेमतो गरी सार्वजनिक नालासमेत नम्बरी जग्गाका रुपमा बिक्री गर्ने गरेको स्थानीय युवराज प्रसाईँको भनाइ छ । यता, कार्यालय प्रमुख डिल्लीराज भण्डारीले भने कर्मचारीको अनियमितता ढाकछोप गर्ने प्रयास गरेका छन् । नियतवस गलत नक्सा जारी गरिएको नभई मानवीय त्रुटि हुन गएको उनको जिकीर छ ।