इटहरीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छुट्टै सुरक्षा युनिट गठन गरी विमानस्थल सुरक्षाको कार्यमा परिचालन गर्नुपर्ने बताएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षागार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय गिरोहहरुबाट हुने गरेका आपराधिक गतिविधि र ती गिरोहमा आबद्ध व्यक्तिको पहिचान र नियन्त्रणका लागि विशेष तालिमप्राप्त सुरक्षा युनिट विमानस्थलमा खडा गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट राख्ने सम्बन्धमा आफूले सरोकारवाला मन्त्रालयका साथै सुरक्षा निकायका पदाधिकारीसँग छलफल गरिरहेको बताउँदै उनले सो युनिटको नाम विमानस्थल सुरक्षा प्रहरी रहने जानकारी दिए । कतिपय विमानस्थलहरु उत्तर र दक्षिणतर्फको सिमानानजिक रहेका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा युनिट निर्माण गर्नुपर्ने भएको उनले बताए ।

बढ्दो उडान संख्याले उत्पन्न गर्ने विमानस्थल सुरक्षा चुनौतिको सामना गर्नका लागि पनि युनिटको आवश्यकता रहेको उनको भनाइ थियो । मन्त्री भट्टराईद्वारा उद्घाटन गरिएको विमानस्थल सुरक्षा पोष्टको क्षमता तीन सय ५० जना रहेको छ ।