इटहरीः ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ स्थित खोक्लिङमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

लु ४ त ६५४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक दले गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार ट्याक्टरका चालक कृष्ण थापा दुर्घटनालगत्तै फरार भएका छन् ।

ओझागाउँबाट खोक्लिङतर्फ गइरहेको ट्याक्टर सल्लेरीमा दुर्घटनामा परेको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खस्दा चालकका ६ वर्षीय छोरा किर्जमसमेत घाइते भएको नायब उपरीक्षक श्रेष्ठले बताए । घाइते बालकलाई उपचारार्थ उनकी आमासँगै जिल्ला अस्पताल पठाई प्रहरी फरार चालकको खोजीमा जुटेको उनको भनाइ छ ।