इटहरीः कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय सीमा नाका सील गरेको छ । तर अवैध रुपमा सीमा पार गरी भारतीय क्षेत्रमा प्रवेश गर्ने काम भने जारी नै रहेको छ ।

सीमामा हुने आवागमन प्रतिबन्ध गर्ने सरकारको निर्देशनका बाबजुद सुरक्षाकर्मीले आवागमन नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसक्दा नेपालबाट भारतीय बजारमा गई किनमेलजस्ता गतिविधिमा लाग्ने क्रम बढेको हो । मोरङको विराटनगरस्थित रानी भन्सार क्षेत्रबाट पनि अवैध रुपमा भारततर्फ प्रवेश गर्ने क्रम रोकिएको छैन । मूल प्रवेशद्वारमा सुरक्षाकर्मीले कडाइ गरेको भएपनि अन्यत्रबाट सीमा पार गर्ने प्रवृत्ति भने अझै रोकिएको छैन । चाडपर्वका बेलामा दैनिक उपभोग्य सामग्रीको खरिदका लागि नेपालीहरु भारतीय बजार जोगबनीका साथै फारबिसगञ्जसम्म पुग्ने गरेका छन् ।

विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र इस्लामपुरबाट लुकीछिपी मानिसहरु भारततर्फ जाने गरेको स्थानीय मोहम्मद मुख्तार हुसेनको भनाइ छ । आकस्मिक प्रयोजनका लागि अनुमति लिएर भारत जान सकिने व्यवस्था सरकारले गरेको भएपनि मानिसहरु सस्तो मूल्यमा सामान पाइने भएकाले दैनिक उपभोग्य वस्तुको खरिदका लागि पनि भारतीय बजारकै भर पर्ने गरेका छन् । प्रहरीसँग भनसुनका भरमा भारतीय सीमामा पुग्ने सर्वसाधारण भारतीय क्षेत्रमा रहेका सीटी सफारीमार्फत् सहजै भारतीय बजारमा किनमेलका लागि पुग्ने गरेका छन् । जहदा गाउँपालिका ३ घर भएका देवन रामका अनुसार सस्तो सामान पाइने भएकाले प्रहरीसँग भनसुन गरी उनी भारततर्फ गएका थिए । फर्कने क्रममा पनि प्रहरीले अवरोध नगरेको उनले बताए ।

गत चैत ११ गतेदेखि सीमा सील गरेको नेपाल सरकारले हालसम्म सीमा नाका नखोलेको भएपनि भारत सरकारले भने गत कात्तिक ६ गतेदेखि एकतर्फी रुपमा सीमा खुला गरेका कारण सीमामा आवागमन नियन्त्रण गर्न नेपाली पक्षलाई समस्या भएको हो । मोरङ जिल्ला प्रशासनले सीमामा आवागमन नियन्त्रणका लागि अतिरिक्त प्रहरी जनशक्ति परिचालन गर्ने योजना बनाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।