इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ गछियाका इश्वर खड्का साढे २ वर्ष कतारको एक कम्पनीमा काम गरेर स्वदेश फर्किए । २०७५ साल भदौ ३ गते उनी गछियामा आप्mनै घरमा आइपुगे । त्यसको तीन दिनमा नै उनले घर छोडेर रामेछाप जाने बुबालाई बताए र पैसा मागे ।

उनका बुबा हुन् चक्रबहादुर खड्का । बुबाले उनलाई ६ हजार रुपैयाँ दिए र उनी रामेछाप जाने भन्दै घरबाट हिँडे । त्यसपछि रामेछाप पुगेपछि उनले आफू त्यहाँ पुगेको बताए । केही महिनासम्म उनले परिवारसँग फोनमा कुराकानी गरिरहे । तर त्यसको केही महिना नबित्तै उनी बेपत्ता भए । परिवारबाट टाढिए । दिन, हप्ता, महिना र वर्ष मात्र होइन, उनी हराएको दुई वर्ष तीन महिना हुन लागेको छ । अझैसम्म छोरो घर नआएपछि चक्रबहादुर छोराको खोजीमा लागेका छन् ।

साथीबाट पैसा लिन रामेछाप जान्छु भनेर घरबाट हिँडेको होः बुबा चक्रबहादुर खड्का

हराउने इश्वर खड्का चक्रबहादुरका कान्छा छोरा हुन् । उनी पहिला तीन वर्ष र फेरि नेपाल आएर दुई वर्ष ६ महिनासम्म कतार बसेका थिए । रामेछाप जानुको कारण भने उनले बुबालाई त्यहाँको एउटा साथीले आफ्नो पैसा लगेको र त्यही फिर्ता गर्न जान लागेको बताएका थिए । बुबाले आफूले नजान अनुरोध गर्दा पनि नमानेको बताए ।

‘उ विदेशबाट घर आएको तीन दिनमा नै रामेछाप जान्छु भनेर हिँड्यो । मलाई रामेछापमा हामीसँगै कोठा बसेको साथी छ । हामी प्रत्येक महिना दुवै जनाको पैसा जम्मा गरेर आलोपालो घर पठाउँथ्यौँ र अन्तिम पटक उसले पठाएपछि कम्पनी टुट्यो । त्यही पैसा लिन जान्छु भनेर गयो’, उनले भने । साथै उनले रामेछाप पुगेपछि पनि त्यहाँ साथीको घरमा नै बसेको आफूलाई जानकारी गराएको बताए ।

‘उसले रामेछाप पुगेपछि फोन गरेको थियो । म पुगँे । यहाँ उसले जग्गा किनेको रहेछ पैसा नै रहेनछ भनेर मलाई भन्यो । साथै छोराले मलाई साथीको खसी रहेछ त्यही लैजा भनेर भन्दै छ तर नल्याउने भनेर पैसा नै लिन बसेको छु भनेर बतायो’, उनले भने । तर, त्यसको केही महिनासम्म पनि छोरो घर नआएको चक्रबहादुरले सुनाए । उनले आउँदै छु आउँदै छु भनेर टारेको बताए । ‘मैले त्यो रामेछाप भनेको कहाँ हो कहाँ । त्यो सबै छोडेर आइज भने । तर म पैसा लिएर मात्र आउँछु भन्यो । अन्तिम पटक म काठमाण्डौ आएको छु भनेर फोन गर्याे त्यसपछि न मलाई फोन आएको छ न घरका कसैलाई’, उनले गहभरी आँसु पार्दै भने ।

प्रदेश पोर्टलका सम्वाददाता शंकर खत्रीसँग कुराकानीका क्रममा उनको आँसु गाला हुँदै घाँटीसम्म आइपुगेको थियो । उनले रुन्चे स्वरमा आफ्नो छोरालाई जसरी पनि फेला पार्न अनुरोध गरे । त्यही क्रममा उनले पछिल्लो समय युवराज खड्का नाम गरेको एउटा मान्छेले फोन गर्ने गरेको र छोरा मसँग छ भनेर भन्ने गरेको सुनाए ।

को हुन् युवराज खड्का ?

छोरा हराएको र लामो समयसम्म घर नआएर चक्र बहादुरको परिवार शोकमा थियो । त्यही समयमा चक्रबहादुरकी कान्छी छोरीको नम्बरमा युवराज खड्का नाम बताउने एक जना व्यक्तिले फोन गर्न थाले । युवराजले चक्रबहादुरको छोरा आफूसँग रहेको बताए । चक्र बहादुरका अनुसार आफ्नी कान्छी छोरी दिएमा छोरो फिर्ता दिने युवराजले भन्ने गरेका थिए ।

‘एक दिन कान्छी छोरीको नम्बरमा फोन आयो । मेरो नाम युवराज हो । यदि तँ मसँग विहे गर्छेस् भने तेरो दाइ फिर्ता आउँछ भनेर हामीलाई धम्की दिन थाल्यो । मैले पनि छोरो फिर्ता पाउने आशामा छोरीलाई बिहे गर्छु दाइलाई लिएर आउनु भन भने । त्यसले पनि हुन्छ भन्यो । मेरो छोरीको बिहे भएको छ त्यो पनि त्यसलाई थाहा थिएन । पछि छोरी घर गइृ र छोरीको मोबाइलमा युवराजको नम्बर बन्द गरी र दिदीको नम्बरमा लगाइदिई’, उनले भने । कान्छी छोरीले नम्बर बन्द गरेपछि आफूलाई फोन आउन थालेको चक्र बहादुरले बताए ।

yubaraj khadka

‘कान्छी छोरीले नम्बर बन्द गरेपछि अर्की छोरीको नम्बरबाट हामीले उसलाई फोन गर्यौँ । तर, उसले कान्छी छोरी ल्याए मात्र छोरो ल्याउँछु भन्यो । त्यसपछि मैले आफ्नी छोरीको बिहे भएको उसलाई बताएँ । उसलाई मैले छोरो लिएर आइज र यहाँ तँलाई जो मन पर्छ त्यही केटीसँग बिहे गराइदिन्छु भनँे । त्यसपछि उसले हुन्छ भन्यो । तर लकडाउन हुन लागेको थियो उसले लकडाउन छ यो सकिएपछि ल्याइदिन्छु भन्यो । लकडाउन सकिएपछि पनि कहिले भोलि लिएर आउँछु कहिले पर्सि लिएर आउँछु भन्छ तर अहिलेसम्म मेरो छोरा लिएर आएन’, उनले भक्कानिँदै भने ।

साथै उनले अन्तिम पटक युवराजले एक महिनाअगाडि सम्पर्क गरेको पनि जानकारी दिए । दुईवर्ष भन्दा लामो समयसम्म छोरो नफर्कँदा उनको परिवार पीडामा मात्र छैन । बेला बेलामा युवराजले फोन गर्दा अझ उनीहरु भावविह्वल हुने गरेका छन् । सबैलाई आफ्नो छोराको खोजीमा सहयोग गर्न चक्रबहादुरले अपिल गरेका छन् । उनले जेठो छोरा अलग्गै बस्ने र आफू र श्रीमति मात्र घरमा बस्ने भएकाले एकल सहाराका रुपमा रहेको छोरो हराउँदा आफूलाई ठूलो प्रभाव परेको बताए । साथै उनले गछिया प्रहरी र बेलबारीमा रहेको प्रहरी कार्यालयमा पनि उजुरी दिएको तर अहिलेसम्म कुनै काम नभएको समेत बताए ।