इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार क्षेत्रबाट अवैध रुपमा नेपालीहरु भारतीय बजार क्षेत्रमा प्रवेश किनमेलका लागि प्रवेश गर्ने गरेकोमा जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रको सुरक्षा कडा गरेको छ ।

सीमामा हुने गरेको अवैध आवतजावतका विषयमा प्रदेश पोर्टलले हिजो '' नाका सील हुँदा पनि रोकिएन आवतजावत '' शिर्षकमा समाचार प्रकाशन गरेको थियो । प्रशासनले हिजैदेखि सीमाको सुरक्षा बढाएको हो । सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण दैनिक उपभोग्य वस्तुको खरिदका लागि भारतीय सीमावर्ति बजार जोगबनीदेखि फारबिसगञ्जसम्म सहजै पुग्ने गरेका नेपाली उपभोक्ता अब भने भारततर्फ प्रवेश गर्न नपाउने प्रशासनको अपेक्षा छ ।

मूल प्रवेशद्वारमा सुरक्षाकर्मीले कडाइ गरेपनि सुरक्षाकर्मीको पातलो उपस्थितिका कारण विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र इस्लामपुरबाट लुकीछिपी मानिसहरु भारततर्फ जाने गरेका थिए । अवैध प्रवेश नियन्त्रणका लागि सीमा क्षेत्रमा १५ जना सुरक्षाकर्मीको दरबन्दी थप गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । मोरङको ३३ किलोमिटर भूभाग भारतीय सीमासँग जोडिएको छ ।

विश्वव्यापी कोरोना महामारीपछि संक्रमणबाट बच्ने उद्देश्यले नेपाल सरकारले गत चैत ११ गतेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । भारत सरकारले गत कात्तिक ६ गतेदेखि एकतर्फी रुपमा नाका खुला गरेपनि भारतमा संक्रमितको संख्या उच्च रहेको भन्दै नेपालतर्फ भने सरकारले नाका बन्द गरेको हो ।