इटहरीः सिरहाको औरही गाउँपालिका ५ स्थित जगदेव बाबा पोखरीबाट आज बिहान एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २२ वर्षीय रबिन दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए । उनका अनुसार अभियुक्त दासले व्यक्तिगत रिसईबीका कारण ४२ वर्षीय छिमेकी विनोद यादवमाथि आक्रमणको योजना बनाएका थिए ।

यादवमाथि पेस्तोल ताकेको देखेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी चौकी औरहीबाट खटिएको टोलीले दासलाई नियन्त्रणमा लिएको प्रवक्ता शर्माले बताए । अभियुक्तले बोकेको एक राउण्ड गोली सहितको कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने थप दुई राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तउपर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।