इटहरीः मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवामा सीमावर्ति भारतीय बजारबाट अवैध रुपमा सामान पैठारी गर्ने समूह र प्रहरीबीच आज बिहान झडप भएको छ ।

बिहान ४ बजे भारतबाट एक बोरा पेटी अवैध रुपमा पैठारी गर्न खोज्ने विराटनगरकी ३३ वर्षीय रवीना खातुनलाई नियन्त्रणमा लिने क्रममा निजको साथमा रहेका अन्य एक दर्जन तस्करहरुले प्रहरीमाथि दुव्र्यवहार गर्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । प्रहरी टोली सादा पोसाकमा रहेकाले तस्कर समूहले हुलहुज्जत गर्न खोजेपछि एक राउण्ड हवाइ फायर गरी तस्करीमा संलग्न खातुनलाई नियन्त्रणमा लिइएको उपरीक्षक खड्काको भनाइ छ ।

उनका अनुसार घटनामा संलग्न अन्य आरोपीहरुको खोजी कार्य जारी रहेको छ । पक्राउ परेकी महिलालाई हिरासतमा राखी कारबाही प्रकृया अगाडि बढाइएको खड्काले जानकारी दिए । यता, झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइते हुन पुगेका छन् । उनको औँलामा चोट लागेको प्रहरीले जनाएको छ ।