इटहरीः मोरङको विराटनगर महानगरपाकिास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चौमासिक कार्य प्रगति विवरण सार्वजनिक गरेकोे छ ।

जस अनुसार कार्यालयको मातहतमा प्रदेशभर रहेका चार ओटा डिभिजन कार्यालय समेतको सक्रियतामा कोरोना महामारीका बखतमा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको छ । यस्तै, गुणस्तर नियन्त्रणका लागि दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएकोमा एघार ओटा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापदण्डविपरीत रहेको पाइएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए ।

उनका अनुसार कुल एक सय २१ नमुनाको परीक्षण गर्दा ११ ओटा गुणस्तरहिन वस्तु फेला परेको हो । कार्यालयले गुणस्तर मापदण्ड उल्लङ्घन गर्ने ११ ओटा उद्योगमाथि यसै आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा कारबाही अगाडि बढाएको रिजालको भनाइ छ । कारबाहीमा पर्नेहरुमा खानेपानी, घिउ र कुखुराको दाना उत्पादक उद्योगहरु रहेका छन् ।

कार्यालयले प्रदेशस्तरीय प्रयोगशालामार्फत् धनकुटा, उदयपुर, झापा र सुनसरीमा रहेका मातहतका डिभिजन कार्यालयले संकलन गरेका नमुनाको परीक्षण गर्ने गरेको प्रमुख रिजालले जानकारी दिए । चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने कानूनी बाध्यताका कारण कार्यालयले हिजो विवरण सार्वजनिक गरेको हो ।