इटहरीः गत जेठ ५ गते गम्भीर घाइते भई जेठकै १२ गते बि.एम.सि अस्पतालमा मृत्यु भएका नेपाली सेनाका हवल्दार मेजर पर्शुराम भट्टराईको विषयमा निष्पक्ष छानबिन गर्न उनका बाबु दिलबहादुर भटट्टराईले माग गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्नो छोराको मृत्यु नभई हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । ३८ वर्षका पर्शुराम, नेपाली सेनाको धनकुटामा रहेको २ नम्बर वाहिनीमा ५ गते राति अचेत भइँ लडेको अवस्थामा फेला परेको वाहिनीले जनाएको छ । तर, त्यो कुरा झुटो भएको भन्दै मृतकका बाबुले दुई पृष्ठ लामो निवदन प्रधानसेनापतिलाई पेस गरेका छन् । आफ्नो छोरा ५ गते नै गम्भीर बिरामी परेका तर आफूहरुलाई ६ गते बेलुका ९ बजे सोही व्यारेकमा कार्यरत योगेन्द्र बास्तोलाले जानकारी गराएकाले घटना ढाकछोप गरेको हुनसक्ने मृतकका बाबुले बताएका छन् ।

bubako nibedan 1

‘मिति २०७७ जेठ ५ गते राति सख्त घाइते बनाई बि.एम.सि अस्पताल विराटनगरमा उपचार भइरहेको भनी ६ गते बेलुका अन्दाजी ९ बजेको समयमा सोही व्यारेकमा कार्यरत योगेन्द्र बास्तोलाको मोबाइलबाट मेरो बुहारीलाई जानकारी गराइएको थियो । त्यसपछि मेरो परिवारका सदस्यहरु अस्पतालमा गई हेर्दा मेरो छोरा पर्शुराम भट्टराईको टाउकोको देब्रेपट्टि कन्चटनजिक गम्भीर चोट लागी भित्रपट्टि हड्डी फुटेजस्तो चोट, दुवै आँखामा निलडाम, दाहिने हात, कुहिनाहरु तथा खुट्टा, घुँडालगायत शरिरका विभिन्न भागहरुमा थुप्रै चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा पुगेका थिए’ उनले पेस गरेको निवेदनमा भनिएको छ ।

साथै छोराको मृत्यु भएर धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ भन्ने कुरा थाहा पाउँदा परिवारका सदस्य आश्चर्यचकित भएको उनले पेस गरेको निवेदनमा भनिएको छ । ‘सघन उपचारकै क्रममा मिति २०७७ जेठ १२ गते बिहान अन्दाजी ७ः२० बजेको समयमा मेरो छोराको अस्पतालमै मृत्यु भएको रहेछ र हामी परिवारका सदस्यहरुलाई कुनै किसिमको जानकारीसमेत नगराई आफूखुसी मृतक छोराको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहस्थित मर्चरी बक्समा राखेको भन्ने बुझिन आयो र हामी परिवारका सदस्यहरु आश्चर्यचकित हुँदै रोइकराइ गर्दै बीपी प्रतिष्ठान पुग्यौ र त्यहाँ गएर बुझ्दा शव मर्चरीमा राखिएको जानकारी पायौँ’, उनले पेस गरेको निवेदनमा भनिएको छ ।

बीपी प्रतिष्ठानमा बुझ्दा आफूहरुले छोराको मृत्यु माथि उल्लेख गरेजस्तो मादक पदार्थ सेवन गरेर नभएको थाहा पाएको निवेदनमा लेखिएको छ । ‘माथि उल्लेख गरिए बमोजिमको आफैँ वा दुर्घटनाबाट मृत्यु नभएको देखिन आएको साथै छोराको उपचार गर्ने बि.एम.सि अस्पतालको चिकित्सकले मृत्यु प्रेसर, सुगर र अन्य बिमारीबाट नभएको भन्ने स्पष्ट जानकारी दिएको छ’, उनले पेस गरेको निवेदनमा भनिएको छ । साथै उनले नेपली सेनामा विगत १८ वर्षदेखि काम गर्दै आएको छोराको एक्कासी मृत्यु हुँदा पनि घटनामा संलग्न रहेको आशंका गरिएका कसैसँग पनि सोधपुछ नगरिएको भन्दै दुखेसो पोखेका छन् ।

‘घटनामा संलग्न सैनिक कर्मचारीहरुलाई हालसम्म कुनै कारबाही भएको छैन । नेपाली सेनाजस्तो एउटा गरिमामय संस्थामा यतिसम्म जघन्य प्रकृतिको आपराधिक घटना घट्दो रहेछ । आगामी दिनहरुमा नेपाल आमाको छोराछोरीहरु कसरी सेवाप्रति उत्साह देखाउलान्? व्यक्तिगत रिसइबीको कारण निर्दोष व्यक्तिलार्य योजनाबद्ध तरिकाले हत्या गरेको देखिएको हुँदा अन्य हामीजस्तो सर्वसाधारण जनतामा के कस्तो सन्देश जाला ? यो एकदम दुःखलाग्दो घटना हो’, उनले पेस गरेको निवेदनमा भनिएको छ । उनले निवेदनमार्फत् १४ जनालाई प्रतिवादी बनाइएको जनाएका छन् ।

उनले ती १४ जनामाथि निष्पक्ष छानबिनको पनि माग गरेका छन् । उनले तत्कालीन धनकुटा २ नम्बार वाहिनीका वाहिनीपति यमप्रसाद ढकालसहित १४ जनाविरुद्ध छानबिन माग गरेका हुन् । त्यस्तै मेजर राजकुमार बस्नेत, पूर्वसुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्की, जमदार अकलबहादुर घलेमगर, हुद्धा शेरबहादुर लिम्बू, हुद्धा गणेश श्रेष्ठ, हुद्धा अमरबहादुर देउजा, अमल्दार योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेशनायक लिला बि.क, सैनिक जवान आर्मस्ट्रङ्ग कबिरथ र सैनिक जवान दुर्गा बहादुर तामाङमाथि छानबिन गर्न उनले माग गरेका छन् ।

14 janako list

पत्रपत्रिकामा यो घटनाबारे थाहा दिएमा सेनाबाट सेवा निवृत भएपछि पाउने र मृत्युबापत पाउने कुनै रकम नदिन भन्दै सेनाको धनकुटामा रहेको २ नम्बर वाहिनीबाट भनेपछि ६ महिनासम्म न्याय पाउने आशामा बसेको तर सत्यतथ्य सतहमा नआएको बुबाले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ । ‘धनकुटामा रहेको २ नम्बर वाहिनी हिलेमा सम्पर्क गर्दा इटहरी पृतना जानु भन्ने र कतै भनेमा पेन्सन रोक्ने र खाने पाउने सुविधासमेत रोकिदिने धम्कि दिएको छ’, निवेदनमा भनिएको छ ।

अन्त्यमा उनले छोराको मृत्यु बारेका सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । ‘यस घटनामा संलग्न हत्यारा सैनिक कर्मचारीहरुलाई हदैसम्मको कारबाही भई न्याय पाउँछु भन्ने विश्वास गरेका छु’, उनले पेस गरेको निवेदनमा भनिएको छ ।