इटहरीः मोरङका तीन स्थानमा हिजो साँझ सवारी दुर्घटना भएका छन् ।

बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा भएका दुघटनाबाट दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा बेलबारी नगरपालिका ७ घर भएका ३७ वर्षीय नवीन पौडेल र झापाको मेचीनगर नगरपालिका ९ का ३२ वर्षीय मुकेशप्रसाद पौडेल रहेको प्रहरीको भनाइ छ ।

बेलबारीका नवीनलाई को ३९ प ३८०१ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाने क्रममा विपरित दिशाबाट आइरहेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बरको मोटरसाइकलले पूर्व पश्चिम राजमार्गको बेलबारी खण्डमा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा साँझ ७ः१० बजे ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

उनका अनुसार पौडेलसँगै मोटरसाइकलको पछाडि सवार २६ वर्षीय मनोज बिष्ट घाइते भएकोमा उनलाई उपचारार्थ बेलबारी सामुदायिक अस्पताल पठाइएको छ । यसैगरी, अर्को मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २० वर्षीय प्रमोद राई र पछाडि सवार २१ वर्षीय विपिन श्रेष्ठसमेत घाइते भएकोमा उनीहरुलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको निरीक्षक ढकालको भनाइ छ ।

यता, पूर्व पश्चिम राजमार्गकै पथरीशनिश्चरे खण्डमा पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको को १ ख ६८३१ नम्बरको बसले साँझ ६ः४० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशप्रसाद पौडेललाई प्रहरीले उपचारार्थ पथरी अस्पताल पठाएकोमा साँझ ७ः१० बजे उपचारका क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीलिप गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना गराउने बस र चालक मोरङको लेटाङ नगरपालिका– ३ का ३९ वर्षीय सञ्जय साह प्रहरी प्रहरी नियन्त्रणमा रहेका छन् ।

यस्तै, उर्लाबारी नगरपालिका ८ स्थित भित्रि सडकखण्डमा हिजो साँझ ८ः१० बजे नम्बर नखुलेको अटोले को १२ प १२५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ का ३५ वर्षीय भोजकुमार खड्का र पछाडि सवार ३४ वर्षीय प्रकाश माझी घाइते भएका छन् । दुवै घाइतेहरुलाई उपचारार्थ स्थानीय गोदावरी अस्पताल पठाइएको जनाउँदै प्रहरीले दुर्घटना गराउने अटो चालकको खोजी भइरहेको उल्लेख गरेको छ ।