इटहरीः इलामको सीमावर्ति सन्दकपुर गाउँपालिकाको ५ नम्बर वडामा पर्ने जौवारीमा गत आइतबार सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई मध्यनजर गर्दै आइतबार उद्घाटन सम्पन्न गरिएको भएपनि मौसमको प्रतिकूलताका कारण हिजो हुने भनिएको प्रधानमन्त्री ओलीको भ्रमण भने स्थगित हुन पुगेको थियो । सशस्त्र प्रहरी बलद्वारा स्थापित सो बोर्डर आउट पोष्टको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सीमावर्ति क्षेत्रमा हुने हत्या हिँसा र अवैध सामानको ओसारपसार अन्त्य भएको बताए ।
बीओपीका साथै प्रदेशभरका सीमा नाकामा छोटी भन्सारको स्थापनाको कार्य पनि अगाडि बढाइने जानकारी दिए । सोही समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामबहादुर रानाले सीमाका स्तम्भ जोगाउन र नेपाली भूमिको रक्षाको लागि सशस्त्र प्रहरी बलले मूख्य भूमिकामा रही कार्य गर्दै आएको भन्दैै सरकारले सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको तैनाथी बढाउने बताए । इलामको सन्दकपुर गाउँपालिका वडा नं। ४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा ६ वटा बीओपी स्थापना भएका छन् । मानेभञ्ज्याङमा स्थापना हुन बाँकी रहेको छ ।