इटहरीः आज महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस । आजैका दिनबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुने गर्छ ।

हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । त्यस बेलादेखि विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । यसैबीच, प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गरी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएका छन् ।

सुनसरीमा रहेको इटहरी र धरान उपमहानगरपालिकाले भौतिक उपस्थिति र भर्चुअल रुपमा कार्यक्रम गर्न लागेका हुन् । १६ दिनसम्म चल्ने सो अभियानको आज औपचारीक कार्यक्रम गरी उद्घाटन गरिएको हो । सोही क्रममा धरान तथा इटहरीमा हिंसाका घटना बढेको सम्बन्धित पालिकाका उपप्रमुख र इलाकाका प्रमुखले जानकारी दिएका छन् ।

itahari 1

इटहरीको न्यायिक समितिमा लैङ्गिक हिंसाको घटना दोस्रो स्थानमा
इटहरी उपमहानगरपालिकामा रहेको न्यायिक समितिमा दर्ता हुने मुद्दाहरुमा लैङ्गिक हिंसाका मामिला दास्रो स्थानमा रहेको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले जानकरी दिइन् । ‘पालिकाको न्यायिक समितिमा दर्ता हुने मुद्दाहरुमा पहिलो नम्बरमा जग्गाको विवाद छ । दोस्रो नम्बरमा लैङ्गिक हिंसाका घटनाहरु दर्ता भएका छन् । लैङ्गिक हिंसामा पनि ८० प्रतिशत महिला हिंसाका घटनाहरु हाम्रोमा आएका छन्’, उनले भनिन् । उनले पुरुषहरुको हिंसाका घटनाहरु केही मात्रामा आए पनि तेस्रो लिङ्गीहरुविरुद्ध हुने हिंसाको घटनाबारे उजुरी नगरमा अहिलेसम्म नआएको जानकारी दिइन् ।

‘हाम्रोमा केही मात्रामा जेष्ठ नागरिक पिडित भएको घटना आएका छन् । अहिलेसम्म हाम्रोमा तेस्रो लिङ्गीहरु हिंसामा परेको घटना आएका छैनन् । पुरुषहरु पनि हिंसामा पर्ने गरेका घटनाहरु आउने गरेका छन् । यो वर्ष उपमहानगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामा पुरुष हिंसाका १० प्रतिशत घटना आएका छन्’, उनले भनिन् । उनले लैङ्गिक हिंसा कम गर्न इटहरीमा सामुदायिक मेलमिलाप केन्द्र पनि स्थापना गरिएको जानकारी दिइन् ।

‘हामीले लैङ्गिक हिंसा कम गर्न उपमहानगरका प्रत्येक वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेका छौँ । उपमहानगरको न्यायिक समितिमा हामी तीन जना मात्र हुन्छौँ यसले सबै ठाउँको गुनासो सुन्न हामी असक्षम हुन्छौँ । यही विषयलाई ध्यान दिएर हामीले प्रत्येक वडाहरुमा ती केन्द्रहरु बनाएका हौँ । हामी वडामा आएका समस्यालाई त्यहीँ बुझेर त्यहीँ समाधान पनि गर्छौँ’, उनले भनिन् । इटहरीमा आज एक कार्यक्रम गरी औपचारीक रुपमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ ।

पुरुष हिंसाका घटना पनि दर्ता भएका छन्ः डि.एस.पी अर्जुन केसी
इटहरी उपमहानगरपालिका, नगर महिला सञ्जाल र इलाका प्रहरी कार्यालय इटहरीको साझेदारीमा उपमहानगरको प्रांगणमा सो कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले इटहरीमा महिलासँगै पुरुष पनि हिंसामा परेका घटना दर्ता भएको जानकारी दिए । ‘इलाका प्रहरी कार्यालयमा यो वर्ष महिलासँगै पुरुष हिंसाका घटना पनि दर्ता भएका छन् । गत वैशाखदेखि अहिलेसम्म १२ वटा पुरुष हिंसाका ‘केस’ हामीकहाँ दर्ता भएका छन् । तीबाहेका विवाहित महिला त्यो पनि २० देखि ३० वर्ष उमेर समुहका बढी पीडित बनेको घटना आउने गरेका छन् । अहिले हामीकहाँ दैनिक पाँचदेखि सात वटा लैङ्गिक हिंसाका घटना आउने गरेका छन्’, उनले भने ।

उनले लैङ्गिक हिंसाका घटना न्यूनीकरण गर्न इटहरी उपमहानगरपालिका र सम्बन्धित सबैसँग समन्वय गरेर अगाडि बढेको जानकारी दिए । ‘हामीले लैङ्गिक हिंसाका घटना कम गर्न इटहरी उपमहानगरपालिका र वडाध्यक्षहरुसँग समन्वय गरेर १६ दिने कार्यक्रम पनि हामी सञ्चालन गर्दैछौँ । यसका अलबा हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत महिला हिंसाका घटना तथा अन्य सामाजिक विषयमा पनि काम गरिरहेका छौँ’, उनले भने । साथै इलाका प्रहरी कार्यालयमा आउने गरेका मुद्दाहरुलाई हेरेर मेलमिलाप गराउने र कानूनी कारबाही गर्ने काम पनि गरिरेको डीएसपी केसीले जानकारी दिए ।

धरानमा भर्चुअल माध्यमबाट १६ दिने अभियानको औपचारीक उद्घाटन
यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकाले बिहान ११ बजे ‘जुम एप’ मार्फत् कार्यक्रम गरी महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी (सुवेदी)ले भर्चुअल माध्यमबाट कार्यक्रमको औपचारिक उद्घाटन गरेको र १६ दिनभरि विभिन्न जानचेतनामूलक कार्यक्रम गरेर मनाउने जानकारी दिइन् । ‘हामीले जुम एपमार्फत् १६ दिने अभियानको औपचारिक उद्घाटन गरेका छौँ । उपमहानगर तथा वडाका जनप्रतिनिधिहरुसँग आन्तक्रिया कार्यक्रम गरेर हामी कार्यक्रमको सुरुवात गर्दैछौँ । हामीले अन्तक्रिया कार्यक्रममार्फत् वडा तथा टोल टोलमा भएका महिला हिंसाका घटनाहरुबारे वडाध्यक्षहरुसँग जानकारी लिँदैछौँ । त्यसपछि १६ दिनसम्म हामी विभिन्न कार्यक्रम गरी महिला हिंसा विरुद्धको अभियान मनाउँदै छौँ’, उनले भनिन् ।

उनले आजदेखि बस्ती बस्तीमा पुग्नेगरी सचेतना कार्यक्रम पनि सुरु गर्ने जानकारी दिइन् । उनले धरान उपमहानगरपालिकामा लैङ्गिक हिंसा नै भएको भने एउटा पनि घटना दर्ता नभएको जानकारी दिइन् । ‘अहिलेसम्म उपमहानगरको न्यायिक समितिमा लैङ्गिक हिंसाकै घटना भनेर दर्ता भएको छैन । माना चामल भरिपाउँ, खान नपाएको र अपहेलनामा परेको भन्दै जेष्ठ नागरिक र महिलाबाट घटना दर्ता हुने गरेका छन् । हामीले महिला हिंसासँगै अन्य घटनाहरुको पनि न्ययिक समितिबाट न्याय निरुपण गर्ने गरेका छौँ’, उनले भनिन् । उनले महिलासँग पुरुष पीडित हुने घटनाको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको बताइन् ।

‘लैङ्गिक हिंसा भन्नेबित्तिकै महिला मात्र नभएर यसमा पुरुषमाथि हुने हिंसा र तेस्रो लिङ्गीमाथि हुने हिंसा पनि पर्छ । हामीकहाँ पुरुषमाथि हुने हिंसा पनि गत वर्षको तुलनामा बढेको छ । हामीकहाँ पुरुषहरु पनि हिंसामा परेको भन्दै रुदैँ कराउँदै आउनुहुन्छ’, उनले भनिन् । उनले विशेषगरी धरानमा वैदेशिक रोजगारिमा गएका पुरुष बढी हिंसामा परेको बताइन् ।

हिंसाका घटनाबारे लिखितभन्दा मौखिक मुद्दा बढी आउँछन्ः डीएसपी ज्ञानेन्द्र बस्नेत
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जानेन्द्र बस्नेतले इलाकामा कानूनी र मौखिक रुपमा हिंसाका घटनाहरु आउने गरेको बताए । ‘हामीकहाँ मुद्दा दर्ता नै गरेरभन्दा पनि मौखिक रुपमा बढी मुद्दा आउने गरेका छन् । मौखिक रुपमा खासगरी घरायसी मुद्दाहरुः खान नदिएको, हेलामा परेको, दुरव्यवहार गरेको मुद्दा बढी आउने गरेका छन् । त्यसलाई हामी मुद्दाको गम्भीरता हेरेर मेलमीलाप र कानूनी रुपमा मुद्दा दर्ता नै गरेर हिंसामा परेकालाई न्याय दिने गरेका छौँ’, उनले भने ।

उनले धरानमा महिला हिंसाका घटना पनि बढ्दै गएको र बालिका यौन दुरव्यवहारका घटना पनि बढेको बताएका छन् । ‘धरानमा महिला हिंसाका घटनाहरुमा यौन दुरव्यवहारका घटना पनि आउने गरेका छन् । त्योसँगै बाल यौन दुरव्यवहारका घटना पनि दर्ता हुने गरेका छन्’, उनले भने । उनले आर्थिक वर्ष २०७६÷०७७ मा महिला हिंसाका घटना बढेको जानकारी दिएका छन् । ‘अघिल्ला वर्षहरुको तुलनामा यो आर्थिक वर्षमा महिला हिंसाका घटना बढेको छ । यो वर्षमा मात्र हाम्रोमा एक सय ५१ वटा महिला हिंसाका घटना दर्ता भएका छन्’, उनले भने ।