इटहरीः इटहरीमा शान्ति सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढि जोखिममा रहेको वडा हो ३ नम्बर । नजिकै पर्यटकीय स्थाल तालतलैया र चारकोषे झाडिको जंगलपनि रहेकोले यस वडामा अपराधिक गतिविधी अन्यको तुलनामा बढि हुने गरेको छ । इटहरीमा हुने अपराधिक क्रियाकलापको दृष्टिकोणले तालतलैयालाई ‘इपि सेन्टर’को रुपमा हेर्ने गरिन्छ । भरखरै तालतलैयाको अस्थायी प्रहरी चौकीको नयाँ भवन निर्माण भएर उद्घाटन गरिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सो भवनको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले स्थानीय जनताको वृहत सहभागीता र सहयोगमा भवन बनेकोमा खुशी व्यक्त गरे । उनले प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयको सहयोग विना नै जनस्तरबाट अस्थायी प्रहरी चौकीको ३ तल्ले पक्कि भवन वनाउनु सुखद भएको प्रतिक्रिया दिएका छन् ।

‘यो भवन जनस्तरबाटै बन्नु सुखद कुरा हो । अहिले मैले यो भवन वनाउँदा अझै ८ लाख रुपैयाँ ऋण रहेको जानकारी पाएको छु । यो ऋण म, प्रदेशसभा सदस्य सर्वध्वज साँवा र इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरी मिलेर तिर्ने छौँ’, उनले भने । साथै यहाँको सुरक्षाको विषयमा आफू गम्भिर रहेको र समस्या समाधानमा आजैबाट लाग्ने प्रतिक्रिया दिएका छन् । ‘यहाँ भौतिक पुर्वधार र सुरक्षा चुनौती अनुसारको जनशक्ति नभएको साथिहरुबाट थाहा पाएको छु । यसलाई छिट्टै समाधान गर्ने छु । यसको लागि म आजबाट लागि परेको छु । साथै यो अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन पनि म प्रयत्न गर्ने छु’, मन्त्री कार्कीले भने ।

asthai prahari chauki

 जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले नजिकै जंगल र मोरङसँगको सिमाना रहेकाले तालतलैयामा सुरक्षा चुनौती बढि रहेको जानकारी दिए । ‘यहाँ नजिकै तालतलैया र चारकोषे जंगल रहेको छ । यहाँ प्रदेश १ मा हुने अपारधीक गतिविधिमा संलग्नहरु लुक्ने र यहाँ बसेर अपारधीक क्रियाकलाप गर्ने गरेको पनि पाएका छौँ । यसले सिंगो प्रहरी प्रशासनलाई चुनौती थपेको छ । यहाँ अस्थायी प्रहरी चौकी रहेकाले हामीलाई केहि राहत मिलेको छ’, उनले भने । भवन बने पनि आवश्यक जनसक्ति कम भएको भन्दै जनसक्ति थप्ने विषयमा आफूहरु लागिपरेको उनले बताए । उनले पनि सो अस्थायी प्रहरी चौकीलाई छिट्टै स्थायी बनाउन पहल गर्ने प्रतिवद्धता जनाए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टले २०६८ सालमा इटहरीको सुरक्षा चुनौतीलाई कम गर्न तत्कालीन गृहमन्त्री विजय कुमार गच्छादारको विशेष पहलमा जिल्ला प्रहरी कार्यालय सुनसरीले तालतलैयामा अस्थायी प्रहरी चौकी स्थापना गरेको जानकारी दिए । उनले यहाँ प्रहरी चौकी स्थापना भए पनि अन्य आत्यावश्यक काम अझै बाँकी रहेको जानकारी दिए । साथै उनले हिक्मत कुमार कार्की र प्रदेश १ का प्रहरी प्रमुखलाई यी समस्या समाधान गर्न पनि अनुरोध गरे ।

अहिले सोहि ठाउँका स्थानीय चन्द्र प्रसाद खतिवडा, विन्दा प्रसाद खडिवडा, हरी खतिवडा, बालकृष्ण खतिवडा, चिन्तामणि खतिवडा र सारोज खतिवडाले बुबाको नाममा १ कठ्ठा १० धुर जग्गा दान गरेपछि यो अस्थायी भवन तयार भएको हो ।