इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान करिब ८ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ घर भएका ४० वर्षीय विजेस लिम्बूको ज्यान गएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूलाई प्रहरीले उपचारार्थ विराटनगरस्थित नोबेल शिक्षण ाअस्पताल पठाएकोमा उपचारका क्रममा बिहान ९ बजे उनको ज्यान गएको हो । ठक्कर दिने बस र सो बसका चालक झापाको कनकाई नगरपालिका १ बस्ने बाबुलाल मुर्मुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ ।