इटहरीः मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस्त थिए । बेलुका करिब ५ बजे घरदेखि नजिकैको पसलमा चिसो स्प्राईट खान निस्केका सुजन र छिमेकी २० वर्षीय सुमन झासँग जम्काभेट हुन्छ । केही बेर पब्जी खेलको विषयमा एकअर्को बिच कुरा हुन्छ । त्यही क्रममा सुमनले एक महिना अघि दुहबीकै सखुवाटोकीको झुलुङगे पुल उद्घाटनको क्रममा आफूलाई जिस्काएको कुरा निकाल्छन् ।

तर सुजनले साथीभाइ बिच सामान्य मजाक गरेको जवाफ दिन्छन् । तर सुमनले भने त्यो दिन देखिनै साथीभाइको बिच कपडाको विषयमा खिल्ली उडाएको भनेर बदला लिने सोच बनाएका हुन्छन् । स्प्राईट पिएर सुमनले सुजनलाई दुहबी बजार घुम्न जाँउ भन्छन् । बजार घुमेर फर्किएका दुवै जना घर देखी केही मिटर कोसी राजमार्गसँग जोडिएको सुभ लक्ष्मी खाद्य उघोग पछाडि पुग्छन् । सुमनले बदला लिने सोचका साथ सुजनलाई उघोग छेउको घारीमा करिब ८ बजेतिर पुराउँछन् । बाटोमै पब्जी खेलौँ भनेर सुमनले उनलाई अल्झाउँछन् । त्यही क्रममा सुमनले पछाडिबाट घाटी दबाउँछन् ।

सुजनले पनि प्रतिकार गर्छन् । प्रतिकार गर्दा सुमनको कोखामा लात्ती लागेपछि थप अबेगमा आएका सुमनले हातैले उनको गला दबाएर हत्या गर्छन् ।

मृतक सुजनले एक महिना अघि जिस्काएको घटनापछि पनि क्रमशः बिचमा पटक पटक आफूलाई होच्याएर जिस्काउने गरेको र त्यसको बदला लिन आफूले १० गते अबेगमा आएर हत्या गरेको सुमनले प्रहरी समक्ष बयान दिएका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरीलाई सुमनले बयान दिँदै भनेका छन् ‘मलाई सुजनले तेरो कपडा राम्रो छैन, चप्पलमा मात्र हिड्छन १ तँसँग मलाई सङ्गत गर्नु छैन’ । भनेर पटक पटक गाली गथ्र्यो । गाउँमा पनि मलाई खाते भनेर अपमान गर्दथ्यो ।

सुमनले थप्दै भने ‘भाइ हो भनेर मैले धेरै पटक सहे ।’ तर मसिंर १० गते उसले मलाई फेरी अपमान गरेर बोलेपछि एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ । त्यो बेला मलाई अति धेरै रिस उठेको थियो ।

यता ५ बजे घर बाट हिँडेको सुजन घर नफर्किएपछि उनको घरपरिवारमा चिन्ता बढेको थियो । घटना हुनु अघि सुजनले घर फर्किँदै गरेको आमालाई फोनमा भनेका थिए । तर ८ बजेपछि सुमनको मोबाइल एक्कासि अफ भएको थियो । तर मोबाइल अफ भएको केही घण्टापछि सुमनको मोबाइल अन भएको थियो ।

त्यो समय आमाले फोन गर्दा सुमनले उठाएर ‘तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर जवाफ दिन्छन् । घटना अनुसन्धानमा आफै खटिएका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार सुजनको हत्यापछि सुमनले उनको सिम आफ्नो मोबाइलमा हालेका थिए ।
सिम हालेपछि उनले मृतक सुजनको आमाको नम्बरमा म्यासेज पनि पठाएका थिए । हत्यापछि सुमन अत्तालिएको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक थापा भन्छन् ‘हत्या पश्चात् सुमन घर पुगेर भोलि पल्ट बिहानै फेरी शव भएको ठाउँमा आएको देखिन्छ ।’ ११ गते बिहान करिब ४ बजे उनले हत्या भएको ठाउँबाट सुजनको शव केही मिटर भित्र लुकाउँछन् ।

00000

छोरा नआएपछि बुवा सुरेन्द्र नारायण चौधरीले ११ गते इलाका प्रहरी कार्यालय दुहबीमा खोजतलासको लागि हुलिया सहितको निवेदन दिन्छन् । फोनमा अपहरणको धम्की दिएको विषयमा समेत जानकारी गराउँछन् ।

लगतै घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय दुहबी, १ नम्बर प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम रिट र सङ्घीय प्रहरी इकाई कार्यालय धरानको टिम एकजुट हुन्छ । घटना भएको रातको सुजनले बोक्ने फोन र म्यासेजको सिडिआर निकालिन्छ । त्यसमा मृतक सुजनको सिम अर्कोको मोबाइलमा हालेर कुरा भएको भेटिन्छ । अनुसन्धानको क्रममा सुजनको सिम सुमन झाको नाममा रहेको मोबाइलमा हालेको रेकर्ड भेटिन्छ ।

अनुसन्धान टोलीले तत्कालै सुमनलाई १३ गते साँझ पक्राउ गर्छ । सुमनको साथमा सुजनले बोक्ने ट्याब समेत बरामद हुन्छ । अनुसन्धानको क्रममा सुमनले हत्या स्वीकार गर्छन् र शव लुकाएको ठाउँ प्रहरीलाई जानकारी दिन्छन् । अनुसन्धान टोलीले सोमबार बिहान शव बरामद गरेको थियो ।