इटहरीः बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबा रिहा भएका छन् । सर्वोच्च अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको एक हप्ता नबित्दै जिल्ला अदालत सुनसरीले उनलाई रिहा गरेको हो ।

२०७६ मङ्सिर १६ गते बलात्कारको अभियोगमा पक्राउ परेका गिरीलाई २०७६ पुस १४ मै जिल्ला अदालतले धरौटीमा छोडेको थियो । धरौटीमा छोडे लगत्तै उच्च अदालतले गिरिलाई जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर गर्दै पुर्पक्षको लागि थुना पठाउने निर्णय गरेको थियो ।

तत्कालीन जिल्ला अदालतका एक नम्बर इजलासका न्यायाधीश राधाकृष्ण उप्रेतीले धरौटीमा छोड्ने निर्णय गरेका थिए भने अहिले पनि सोही अदालतकै एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाइ दिएको हो ।

तत्कालीन अवस्थामा सरकारी वकिलले मुद्दालाई उच्च अदालत दायर गरेर पुर्पक्षमा पठाएको गिरीलाई सफाइ दिएको बेला भने बहस गर्न पाएनन् । तर, न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासमा भएको सोमबारको मुद्दामा भने सरकारी वकिलले बहस नपाएका हुन् ।

गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको थियो । मुद्दाको पेसी सार्न दिएको निवेदनलाई बेबस्ता गर्दै जिल्ला अदालतले सफाइ दिएको हो ।

सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतले दर्ता गर्ने मानेन । जबकि मुलुकी फौजदारी कार्यविधि संहिताले मुद्दाको वादी र प्रतिवादीले तिन पटक सम्म आफ्नो मुद्दा सार्न पाउने अधिकार राख्दछ ।

प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा गिरीको तर्फ बाट मात्र बहस भएको थियो । जसलाई सरकारी वकिल कार्यालय सुनसरिका प्रमुख गोकुल निरौलाले एकतर्फी भएको बताउँछन् ।

केही दिनअघि बलात्कार मुद्दामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्दा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको थियो । अहिले सम्म त्यो मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता आएको छैन । तर सोही ब्यहोरा खुलाएर दिएको निवेदन लाई अदालतले भने दर्ता गर्ने मानेन र एकल निर्णय सुनायो ।

‘हामीले मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको थियौ, तर सुनुवाइ भएन’ जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले भने ‘इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरे दर्ता फाट र श्रेस्तेदारलाई बुझाउँदा पनि पत्र बुझेनन्, पछि आफैले मेल पठाए तर जबाफ आएन ।’