इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित जङ्गलमा आज बिहान ८ बजे एक जना शिक्षकको शव फेला परेको छ ।
शव फेला पर्नेमा स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीले बताए । उनका अनुसार आजै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा अपहरण गरिएका श्रेष्ठको अपहरणकारीले घाँटी रेटेर हत्या गरेका छन् । स्थानीयले जङ्गलमा गोली चलेको बताएपछि गोली प्रहारबाट हत्या भएको आशङ्का गरेको प्रहरीले स्थलगत अनुगमनका क्रममा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाएको हो ।
प्रहरीले घटनास्थलबाट श्रेष्ठमाथि प्रहार भएका लट्ठीहरुका साथै उनले लगाएका टोपी, चप्पल मोबाइलसमेत बरामद गरेको डीआईजी कार्कीले बताए । मंगलबार बिहान लगभग ६ बजेतिर पाँच÷सात जनाको समूहले उनलाई घरायसी काम गरिरहेको अवस्थामा घरैबाट अपहरण गरेर लगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रअ श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन् । २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यसमेत थिए । हत्यामा संलग्नहरुको पहिचान हुन नसकेको बताउँदै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।