इटहरीः मोरङको विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले गैर कानूनी गतिविधिमा संलग्न व्यावसायिक प्रतिष्ठानमाथि कारबाही तिव्र पारेको छ ।
कार्यालयले यस आर्थिक वर्षको चौमासिक अवधिमा एक दर्जन व्यावसायिक प्रतिष्ठानलाई कारबाहीको दायरामा ल्याएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोख्रेलले बताए । कारबाहीमा पर्नेहरुमा वस्तुको मूल्य आफूखुसी निर्धारण गरी बढी रकम असुल्ने, बिनादर्ता व्यवसाय सञ्चालन गर्ने तथा खरिद बिलमा अनियमितता गर्ने प्रतिष्ठानहरु रहेको कार्यालयको तथ्याङ्क छ । कारबाहीमा पर्ने सबै प्रतिष्ठानहरु प्रदेश १ अन्तर्गतका सुनसरी,मोरङ,झापा र धनकुटा जिल्लाका रहेका छन् । अनुगमनका क्रममा फेला परेको कैफियतका आधारमा ती प्रतिष्ठानउपर कारबाही चलाइएको हो ।
विराटनगरस्थित सेन्ट्रल मल र बीकेएम मसला उद्योगले आफूखुसी मूल्यवृद्धि गरेको पाइएपछि दुवै प्रतिष्ठानसँग दुई दुई लाख जरिवाना गरिएको कार्यालयले जनाएको छ । यसैगरी, खरिद बिलमा अनियमितताको आरोपमा नौ जना तथा बिनादर्ता सर्जिकल सामग्रीको कारोबारमा संलग्न भएको आरोपमा एक जना कारबाहीमा परेका छन् । यस आर्थिक वर्षमा भएका एक हजार सात सय ९४ ओटा व्यावसायिक प्रतिष्ठानको दर्ता, नवीकरण र संशोधनबापत कार्यालयले ३ लाख ८३ हजार ८५ रुपैयाँ बराबरको राजश्व संकलन गर्न सफल भएको जनाइएको छ ।
चार महिनाको अवधिमा पाँच सय १० वटा नयाँ व्यवसाय दर्ता, नौ सय १४ वटा नवीकरण,तीन सय ४० वटा संशोधन र ३० वटा प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । कार्यालयले यस आर्थिक वर्षको चौमासिक कार्यप्रगति विवरण हिजो सार्वजनिक गरेको हो ।