विराटनगरः सुराकीको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले हत्या गरेका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको बिहीबार अन्त्येष्टि हुने भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन् । उनको अन्त्येष्टि विहीबार मोरङको मिक्लाजुङ ८ र २ को संगमस्थलमा रहेको बक्राहा खोलामा गर्ने परिवार र आफन्तको तयारी छ । मधुमल्लाका पत्रकार सन्तोष गौतमका अनुसार श्रेष्ठको शव परिवारले रचना भन्ने ठाउँमा रहेको छोरा बस्दै आएको मूल घरमा साँझ ल्याई पुर्याएका छन् । मूल घर रहेको ठाउँ चुरे पर्वत श्रृंखलाको फेदीमा अवस्थित छ ।
त्यहाँ श्रेष्ठका एक छोरा छत्रबहादुर र छोरी बस्दै आएका थिए । रचनामा श्रेष्ठका आफन्त र दाजुभाइको पनि घर छ । प्रअ श्रेष्ठ भने श्रीमतीसहित पहाडको बर्खे बस्तीमा रहेको घरमा बस्दै आएका थिए । बुबाको हत्या भएको खबर आएपछि छोरा छत्रबहादुर र आफन्त लगत्तै बर्खे पुगेका थिए । रचनाबाट बर्खे करिब ४० किलोमिटरको दूरीमा पर्छ । छोरा छत्रले बुबाको हत्या हुनुको खास कारण आफूहरु कसैलाई थाहा नभएको बताएका छन् ।
विप्लव समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले सार्वजनिक गरेको विज्ञप्तिमा ‘पटकपटक सचेत गराउँदा पनि नसच्चिएपछि र हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको’ भन्ने दाबी गरिएको छ । तर, घटनापछि मिक्लाजुङको बर्खे क्षेत्रमा त्रास छाएको छ । मिक्लाजुङ–१ का वडाअध्यक्ष नरबहादुर राईले गाउँमा भएको घटनाले त्रासको वातावरण सिर्जना भएको सुनाउँदै भने, “मिलनसार र भलाद्मी शिक्षक हुनुहुन्थ्यो तर यो घटनाले हामीलाई पनि दुखित बनाएको छ ।” शैक्षिक क्षेत्रको विकासका लागि श्रेष्ठको सकारात्मक योगदान रहेको वडाध्यक्ष राईले बताए ।
सुरक्षा र सञ्चारको पहुँचबाट टाढा रहेको बर्खे क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट राख्न स्थानीयले विगतदेखि नै माग गर्दै आएका थिए । यस विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा समेत छलफल भएको र सुरक्षाकर्मीको स्थायी उपस्थिति राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराइने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । उनले भने,“स्थानीयबाट प्रहरी चौकी राख्न विगतदेखि नै माग हुँदै आएको हो ।”
गत कात्तिक १२ गते प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो । यसैगरी उर्लाबारीमा अर्का एकजना कार्यकर्ता पक्राउ परेका थिए । प्रहरीलाई श्रेष्ठले नै सुराकी गरेको विप्लव समूहको दाबी छ ।
घटनापछि मिक्लाजुङ क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले सर्च अभियान चलाएर घटनामा संलग्नहरुको खोजी गरिरहेको छ । मोरङका प्रजिअ निरौलाले भने, “घटनालाई हामीले सुक्ष्म ढंगबाट विश्लेषण गर्दै संलग्नको पहिचान गर्न अनुसन्धान भइरहेको छ ।” मंगलबार रातभर जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काको नेतृत्वमा सर्च अभियान सञ्चालन भएको छ ।
यसैबीच प्रदेश–१ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बुधबार विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न अपराधीलाई जतिसक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् । बाह्रखरीबाट