इटहरीः झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली नजिकै बलात्कारपछि हत्या गरिएको अवस्थामा ७० वर्षीया वृद्धाको शव फेला परेको छ ।
शव फेला पर्नेमा जिल्लाको अर्जुनधारा नगरपालिका ११ घर भएकी माइना हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए । बलात्कारपछि वृद्धाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई नियन्त्रणमा लिएको उनको भनाइ छ । उपरीक्षक कोइरालाका अनुसार बलात्कारपछि वृद्धाको शव कल्भर्टमुनि लुकाएका अभियुक्त बिर्जाले बेवारिसे शव फेला परेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए ।
जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले छानबिनका लागि बिर्जालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले अभियोग स्वीकार गरेको उपरीक्षक कोइरालाको भनाइ छ । अभियुक्त बिर्जाले वृद्धालाई गएराति बलात्कार गरी घाँटी थिचेर हत्या गरेको स्वीकारोक्ति बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त बिर्जालाई हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ ।