इटहरीः पाँचथरको याङ्वरक गाउँपालिकाले सेवा प्रवाहलाई स्तरीय बनाउन व्यक्तिगत घटना दर्ताको कार्यमा अनलाइन प्रविधि प्रयोग गर्न थालेको छ ।
परम्परागत प्रणालीको प्रयोग झन्झटिलो हुनुका साथै कर्मचारीको ढिलासुस्ति र अनियमितताका कारणले सर्वसाधारणलाई सास्ति भएको भन्दै सोको निराकरणका लागि अनलाइन प्रविधि अपनाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । अनलाइन प्रविधिको प्रयोगबाट तथ्याङ्कको छिटो छरितो प्रयोग हुनुका साथै तथ्याङ्कीय विवरणको सुरक्षा पनि भरपर्दो हुने भएकाले यसको प्रयोग सुरु गरिएको उनको भनाइ छ ।
घिमिरेका अनुसार गाउँपालिकाले सबै सेवालाई डिजिटल प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । जन्म, मृत्यु, विवाहजस्ता व्यक्तिगत घटनाको दर्ताका लागि सबै वडा कार्यालयमा अनलाइन सेवा विस्तार गरिसकिएको गाउँपालिकाले जनाएको छ ।