इटहरीः बलात्कारका अभियुक्तको संरक्षणका लागि पीडित पक्षलाई दबाबमा पारी मिलापत्र गराएको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जिल्लाको धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अभियुक्तहरुले गत भदौ २६ गते सुनवर्षी गाउँपालिका घर भएकी एक २१ वर्षीया युवतिको बलात्कारमा संलग्न बेलबारी नगरपालिका ८ का ३२ वर्षे सुरेशकुमार खवाससँग पाँच लाख रुपैयाँ युवतिलाई बुझाउनेगरी मेलमिलाप गराएको अनुसन्धानबाट खुलेपछि इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बलात्कारपछि फरार रहेका बलात्कारमा संलग्न अभियुक्त खवासलाई घटना भएको एक महिनापछि पीडित युवतिबाट प्राप्त उजुरीका आधारमा मंसिर १९ गते पक्राउ गरी अनुसन्धान गर्ने क्रममा खवासले दिएको बयानका आधारमा प्रहरीले मिलापत्रमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरेको प्रवक्ता राईको भनाइ छ । उनका अनुसार प्रहरीले मिलापत्रका लागि तयार गरिएको लिखतसमेत बरामद गरेको छ । मिलापत्रको कार्यमा अन्य व्यक्तिसमेत संलग्न रहेको जनाउँदै प्रहरीले उनीहरुको खोजी जारी रहेको उल्लेख गरेको छ ।