इटहरीः तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा निर्माण गरिएको प्लाष्टिक पोखरीमा डुबेर तीन जना बालिकाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुमा स्थानीय देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहाना लिम्बू र कोपिला लिम्बूका छोरीहरु ७ वर्षीया रञ्जना लिम्बू र ६ वर्षीया रोजिना लिम्बू रहेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । उनका अनुसार शनिबार दिउँसो खेल्नका लागि गएका बालिकाहरु स्थानीय कृषक समूहले सिँचाइको प्रयोजनका लागि निर्माण गरेको पोखरीमा डुबेको बताए ।
बालिकाहरु अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयहरुले पोखरीभित्र उनीहरुको शव फेला पारेका हुन् । तीनै जना मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ । घटनाबारे प्रहरीले भने हालसम्म पुष्टि गरेको छैन ।