इटहरीः कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
आइतबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्ती मकुनाले सोमबार बिहान कोशी गाउँपालीका वार्ड नम्बर ६ श्रीपुर घर भई वार्ड ७ स्थित हरिपुरमा गहँु बालीमा पानी लगाउने काम गरिरहेका बेला बिहान ६ बजे हात्तीले आक्रमण गरी लखेटेर छातिमा खुट्टाले कुल्चेर घाइते भई २७ वर्षीयका प्रमोद यादवको मृत्यु भएको आरक्षका वार्डन रामदेव चौधरीले बताए । घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेनाका साथै स्थानीय प्रहरी घटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छन् । स्थानीयबासी आक्रोशित भई आन्दोलन गर्ने तयारी गर्ने बताएका छन् ।
कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत् यस्ता घटना पटकपटक दोहोरिरहेकाले दीर्घकालीन व्यवस्थापन नभएमा जनताको आन्दोलनलाई नेतृत्वकारी भूमिका निर्वाह गर्ने र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिलाउनका लागि विशेष छलफल गर्न भोलि बिहान कोशी गाउँपालिकाको सभाहलमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा अगुवा नागरिकहरुलाई सहभागी हुनसमेत आग्रह गरेका छन् । मृतक यादवको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगे पनि परिवारजनले सम्बन्धित निकायबाट लिखित प्रतिबद्धता नआएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शव बुझ्ने काम पनि नगर्ने बताएका छन् । यता, आरक्ष प्रशासनले भने मृतकका परिवारलाई १० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ ।