इटहरीः मोरङको विराटनगर महानगरपालिका ९ घोघापुल चौकबाट प्रहरीले गएराति मिटर ब्याजका माध्यमबाट थुप्रै सर्वसाधारणलाई ठगी गर्दै आएका मन्टु भनिने सञ्जयकुमार रौनियारलाई पक्राउ गरेको छ ।
विगत एक दशकयता व्यक्तिको जग्गा धितोमा राखी मिटरब्याज असुल गर्दै आएका रौनियारलाई उनीबाट ठगिएका मोरङकै धनपालथान गाउँपालिका १ घर भएका ३९ वर्षीय मञ्जुर हुसेनको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । उनका अनुसार चार लाख रुपैयाँ ऋण लिएका पीडित हुसेनले ३६ लाख रुपैयाँ बुझाइसक्दासमेत अभियुक्त रौनियारले उनको जग्गा फिर्ता नगरेपछि हिजो उनी उजुरी लिएर प्रहरीसमक्ष आएका थिए । उनको उजुरीलगत्तै अभियुक्त रौनियार पक्राउ परेपछि उनीबाट ठगिएका अन्य १५- १६ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आएको प्रवक्ता राईले बताए ।
उनका अनुसार पीडितहरु आउने क्रम जारी नै रहेकाले प्रहरीले ठगीको विवरण संकलनलाई तिव्रता दिएको छ । प्रहरी र अदालतमा आफ्नो पहुँच रहेको भन्दै अभियुक्त रौनियारले थुप्रै व्यक्तिसँग तिरिसकेको ऋण बापतको रकम पटक पटक असुल गर्दै आएको खुलेको छ । रौनियारको घरबाट मिटरब्याज लगानीका केही कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ । अभियुक्त रौनियारले ठगी गरेकामध्ये एक हुन् मोरङ धनपालथान गाउँपालिका–७ का ३६ वर्षीय विनोदकुमार सिंह । रौनियारबाट आठ वर्षअघि ९ कट्ठा ७ धुर जग्गा धितो राखेर तीन लाख रुपैयाँ ऋण लिएका सिंहले आठ वर्षको अवधिमा १२ लाख रुपैयाँ बुझाइसके पनि उनले हालसम्म आफ्नो जग्गा फिर्ता पाएका छैनन् ।
अभियुक्त रौनियारले आफूलाई थप ३५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको भन्दै सो रकम भुक्तान नगरेसम्म जग्गा नदिने धम्कि दिएको सिंहको भनाइ छ । रौनियारबाट ठगिनेहरुको फेहरिस्त लामो रहेको बताउँदै प्रहरीले उनलाई हिरासतमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।