इटहरीः लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को फारम नखुल्दा सेवाग्राही मारमा परेको भन्दै यातायत व्यवस्था निर्देशनालयले फारम खुलाउने तयारी थालेको छ ।
यातायत व्यवस्था निर्देशनालय प्रदेश १ का निर्देशक भिमप्रसाद गौतमले यही पुस महिनाको अन्तिम साता वा माघ महिनाको पहिलो साता लाइसेन्सको फारम खुल्ने जानकारी दिए । ‘लामो समयसम्म कोरोना महामारीका कारण लाइसेन्सको फारम नखुल्दा धेरै सेवाग्रहीहरु मारमा परेका छन् । यही कुरालाई ध्यानमा राखेर लाइसेन्सको फारम अविलम्ब खुलाउन हामी लागि परेका छौँ । सम्भवतः माघ महिनाको सुरुमा नै लाइसेन्सको फारम खुल्ने छ’, उनले भने । निर्देशक गौतमका अनुसार प्रदेश १ को इटहरी र बिर्तामोडमा रहेका यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरिएको छ । ती ठाउँमा फारम खुलाउन कतिको सहज छ भन्ने विषयमा जानकारी लिएको गौतमले जानकारी दिए ।
‘हामीले यातायात व्यवस्था कार्यालय इटहरी र बिर्तामोडलाई कोभिड पछिको यो अवस्थामा फारम खुलाउन कतिको उचित छ भनेर सोधेका थियौँ । इटहरीले सर्वदलीय बैठकबाट एक निर्णय गरेर हामीलाई पठाएको छ । इटहरीले पुस महिनाको २० गतेबाट लाइसेन्सको फारम खुलाउन आफूहरु सक्षम रहेको जानकारी पत्रमार्फत् गराएको छ । बिर्तामोडको पनि भोलि (बिहीबार) निर्णय आउँछ र यसको विषयमा हामी छिट्टै ठोस निर्णय गर्छौँ । सम्भवत माग पहिलो साताबाट लाइसेन्सको फारम खुल्छ’, उनले भने । लामो समयसम्म लाइसेन्सको फारम नखुल्दा ड्राइभिङ सेन्टरमा मासिक शूल्क तिरेर सवारी चलाउन सिक्दै आएका व्यक्तिहरु मारमा परेका छन् । ड्राइभिङ सिकेर आफ्नै देशमा स्वरोजगार बन्ने सपना बोकेका धेरैले लामो समयसम्म लाइसेन्स वितरण प्रकृया नखुलेकाले अविलम्ब खुलाउन माग गरेका छन् ।