इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कोसी राजमार्गको विराटनगर इटहरी खण्डबाट मोटरसाइकल चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका २ घर भएका २४ वर्षीय विजय चौधरी र झापाकै बाह्रदशी गाउँपालिका ६ घर भएका १९ वर्षीय नगेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार गत पुस २८ गते इटहरी उपमहानगरपालिका ४ घर भएका सन्दीप कट्वालले आफ्नो प्रदेश १ -०५ -००१ प ०२०७ नम्बरको दुई सय २० सीसी क्षमताको पल्सर मोटरसाइकल इटरी ६ स्थित बर्गर हाउस अगाडिबाट हराएको भनी कार्यालयमा दर्ता गराएको उजुरीका आधारमा खोजी गर्दा सोही मोटरसाइकलसहित फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
गत पुस ३० गते पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले चोरी भएको उक्त मोटरसाइकलका अतिरिक्त दुई थान मोबाइल सेट, प्लाष्टिकको डोरी, मार्कर, पेचकस, टेस्टर, पिलास, तारको टुक्रा, रिङ सहितको चाबी, कालो ब्याग, कालो टेप र सलाइसमेत एक एक थान बरामद गरेको प्रनि कट्वालले बताए । पक्राउ परेका दुवै अभियुक्तहरुउपर चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।